पेरिस । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धी मध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् ।
पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोश्रोमा १०१.७, तेश्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।
यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा ६१९।१ अंकको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।
दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित ८ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नोर्वेकी हेग जिनेट, स्विटजरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल सोमबार हुनेछ ।
डुवाना ३० औं स्थानमा
नेपालकी डुवाना लामा पेरिस ओलम्पिक– २०२४ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा सोमबार ३० औं स्थानमा रहिन् । सहभागी ३१ खेलाडी मध्ये डुवाना ३० औं भएकी हुन् । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन् ।
पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवानाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन् । हिटमा भने डुवाना ७ खेलाडी मध्ये सातौं भइन् । डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । यो समय डुवानाको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि बढी हो । डुवानाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड छ ।
यो स्पर्धामा २ मिनेट ११।९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा ४ स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ की सहभागी मध्ये सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।
वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी डुवानाले थाइल्यान्डमा अध्ययनसंगै ओलम्पिकको तयारी पनि गरेकी थिइन् । डुवाना पेरिसबाट नेपाल जाने र केहि दिनको बसाइपछि थाइल्यान्ड फर्कने डुवानाकी प्रशिक्षक नयना शाक्यले जानकारी दिइन् ।
पौडीमा नेपालबाट २ खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाइ ३० तारिखमा पुरुष १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी प्रशिक्षक शाक्यले एंकलमा समस्याका कारण डुवानाले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको बताइन् । पेरिस ओलम्पिकमा सहभागी ५ नेपाली प्रशिक्षक मध्ये नयनासहित २ जना ओलम्पियन छन् । अर्को ओलम्पियन प्रशिक्षकमा जुडोकी देबु थापा हुन् । देबुले २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पेरिस ओलम्पिकमा डुवानासंगै ३ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिसकेका छन् ।