काठमाडौं । काठमाडौं विश्वविद्यालयले (स्वतः रोजगारी) कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयले नेपालमा पहिलो पटक स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको हो।
विश्वविद्यालयले विद्यार्थी उत्तीर्ण गराउने मात्रै दायित्व नभई दक्ष भएपछि स्वदेशमै रोजगार प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम सञ्चालन गरिएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बताए ।
यस कार्यक्रमअन्तर्गत हाल स्नातक उत्तीर्ण गरेका ७० देखि ७४ जनालाई रोजगारी पाउनेछन्। कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ खर्च गर्नेछ।
उपकुति प्रा.डा. थापाको भिजनमा विश्वविद्यालयसँग रोजगारी जोड्ने उद्देश्यले ‘काठमाडौं विश्वविद्यालय रोजगारी प्रवर्द्धन कार्यविधि २०२३’ पारित गरी कार्यक्रमलाई संस्थागत गरिएको छ। मंगलबार बसेको कार्यकारी परिषद्ले कार्यविधि २०२३ पारित गरेको हो।
यो कार्यविधिअन्तर्गत आउने नयाँ विद्यार्थी र २८औँ दीक्षान्त समारोहमार्फत् स्नातक तहमा उच्च अंक ल्याउने विद्यार्थीबाट यो कार्यक्रम प्रारम्भ हुनेछ। सो कार्यक्रम केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागले सञ्चालन गर्नेछ। कार्यक्रम अन्तर्गतको रोजगारी बढीमा १ वर्षसम्म मात्रै लागू हुने विभागका संयोजक डा. राम लामाले बताए ।
कुनै पनि निजी कम्पनी तथा संघसंस्थाले केयु र केयुबाट सम्बन्धन प्राप्त भएका कलेजमार्फत् स्नातक उत्तीर्ण गरेका विद्यार्थी केयुकै लगानीमा राख्न सक्नेछन्।
त्यसका लागि कम्पनीले केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागसँग माग गर्नुपर्ने छ। ती कम्पनीले केही निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने छ। त्यसपछि केयुले आफ्नो स्नातक विद्यार्थीलाई त्यस्ता कम्पनीमा रोजगारीका लागि पठाउने छ। जसको सम्पूर्ण तलब केयुले लगानी गर्नेछ।