काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दैलेखमा ५० दशमलव ५ मिलिमिटर पानी परेको छ ।
यस्तै खोटाङको ऐसेलुखर्कमा ३९ दशमलव ७ मिलिमिटर, पानी परेको छ । काठमाण्डौको कपन र बबरमहल क्षेत्रमा पनि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि मध्यम वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यतिखेर देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।