काठमाडौं । आज साउन १५अर्थात् खिर खाने दिन । आज अधिकाँश नेपालीहरुको चुलोमा खिर पाक्छ । खिरलाई स्वाद अनुसारको गुलियो, ल्वाङ, सुकुमेल, अलैँची, मरिच आदि मरमसला हालेर मगमगी बास्ना आउने मात्र होइन, स्वादिलो बनाएर खाने चलन छ । घरमा गाई, भैँसी पालेका कृषकले घरमै डेक्चीमा खिर पकाउँछन् भने गाई, भैँंसी नपाल्नेहरुले डेरीबाट दूध खरिद गरेर खिर खाने गर्दछन् । आजको दिन खिर खाए गती परिन्छ भन्ने जनविश्वास रहिआएकाले दूध किनेर खिर पकाउने जाँगर नभएकाहरु समेत दिउँसो खाजाको रुपमा होटलबाट खिर किनेर भनेपनि मुखमा हाल्ने गर्छन् ।
यी परम्परा, संकार र संस्कृतिहरु हाम्रा पहिचान हुन् । यीनलाई हामीले ‘हाइब्रिड’हुन नदिइ हाम्रा भावी पुस्ताका लागि जोगाएर पुस्तान्तरण गर्दै लैजानु प्रत्येक नेपालीको कर्तव्य हो ।
नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ नै छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरुले धान रोपेर काम सकेपछि खुसीयाली स्वरुप खिर खाने परम्परा रहँदै आएको मानिन्छ ।
खिर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्व छ । हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खिर खाने गरे पनि साउन १५ लाई विशेष खिर खाने दिन भनेर मनाउने गरिन्छ । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरुले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन् ।
साउन झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खिर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खिर खानु स्वास्थ्यकर मानिन्छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । दूध र चामल मिश्रित खिरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ । चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो । चिल्लो ननिकालिएको दूधबाट बनाएको खिरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिने चिकित्सक तथा पोषणद्हिरुको भनाई छ । गाईको दूधबाट बनाएको खिरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खिर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
खिरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ । खिर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खिर बिरामीलाई पनि खुवाउन सकिन्छ । बिरामीले खिर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् । खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त पोषिलो खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खिर पनि खानु हुँदैन र ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खिर खुवाउँदा पचाउन सजिलो हन्छ भन्ने आममानिसमा बुझाई रहेको छ । साउन गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकाले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरु खासगरी खिर खाने चलन चलिआएको हो । यसको साथै साउनमा मासु, माछा, मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटह, रुखकटहर आदि मौसमी फफूलहरु खाने प्रचलन पनि रहिआएको छ ।
हाम्रा केही रितिथितीहरुः
हाम्रा रितिथिती, संस्कार तथा परम्पराहरु निकै पुराना र मौकिल छन् । यी मौलिक परम्पराहरुमा हामीले सेवन गर्ने भोजनहरु पनि भिन्नाभिन्दै छन् । हामी असार १५ मा दही–चिउरा, माघे संक्रान्तिमा घिउ–चाकु, दशैंमा मासु, तिहारमा मिठाई र सेलरोटी, जनै पूर्णिमामा क्वाँटी, वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा जौको सातु आदि खाने गर्दछौं । यी खानेकुराहरु मौसमअनुसारका छन् ।
मौसम बदलिएसँगै हाम्रो शरिरको तापक्रम पनि बदलिने भएकाले शरिरलाई पकृतिअनुकल बनाइ स्वस्थ राख्न पनि हामी बिभिन्न समयमा बिभिन्न प्रकारका खानेकुराहरु खाने गर्दछौं । यी र यस्ता अनेकौँ प्रकारका बिबिधताले गर्दा हाम्रा संस्कार र संकृतिहरु विश्वमा चिनिएका छन् र यीनले मौलिकता पनि थप्ने काम गरेको छ । यी परम्परा, संकार र संस्कृतिहरु हाम्रा पहिचान हुन् । यीनलाई हामीले ‘हाइब्रिड’हुन नदिइ हाम्रा भावी पुस्ताका लागि जोगाएर पुस्तान्तरण गर्दै लैजानु प्रत्येक नेपालीको कर्तव्य हो ।
यीनै मौलिकताले भरिपूर्ण भएका हाम्रा पर्वहरु, खानाहरु, भेषभुषाहरु हेर्न र अध्ययन तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु नेपालका बिभिन्न स्थानमा जाने गरेका छन् । त्यसैले हामी सबैले आफ्ना मौलिक पर्वहरु मनाउँदा ग्लानी होइन, गर्व नैं गर्नुपर्छ ।