एजेन्सी, १५ साउज । भेनेजुएलामा राष्ट्रपति निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै सडकमा विरोधप्रदर्शन गर्ने मानिसहरू राष्ट्रपति कार्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीहरूले अश्रु ग्यास र रबरका गोली प्रहार गरेका छन्।
पदासीन राष्ट्रपति निकोलास मादुरो पुनः निर्वाचित भएको घोषणा भएपछि देशको राजधानी काराकासमा हजारौँ मानिसहरू आन्दोलित बनेका छन्। ।
देशको आर्थिक सङ्कटबाट असन्तुष्ट भएका विपक्षी पार्टीहरूले ११ वर्षदेखि सत्तासीन मादुरोलाई हटाउन एड्मुन्डो गोन्सालेसलाई समर्थन गरेका थिए। प्रतिपक्षी दलले मादुरो विजयी भएको घोषणालाई धाँधलीपूर्ण भन्दै ७३.२ प्रतिशत मत पाएर गोन्सालेस विजयी भएको गरेको दाबी गरेको छ। चुनावअघि भएका मतसर्वेक्षणहरूमा विपक्षी उम्मेदवार विजयी हुने देखिएको थियो।
पश्चिमा र ल्याटिन अमेरिकी देशहरूसहित संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले सबै मतदानकेन्द्रको मतदान विवरण सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन्।
प्रदर्शन बढ्दै गएपछि राजधानी काराकासमा पानीका फोहरा प्रहार पर्ने साधनहरूसहित ठूलो सङ्ख्यामा सैनिक र प्रहरीहरू परिचालित छन्।
चिलीका राष्ट्रपतिले भेनेजुएलाको परिणाम घोषणा हुनुभन्दा केही समयअघि त्यहाँका निकायलाई जनताको सार्वभौमसत्ता र आफ्नो निर्णयको अधिकारलाई सम्मान गर्न भनेका थिए। संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले मादुरोले निष्पक्ष निर्वाचन सम्पन्न गरे मात्रै अमेरिकी प्रतिबन्धहरू खुकुलो हुँदै जाने सङ्केत गरेका थिए।
विवाद किन ?
भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्का प्रमुखले प्रमुखले राष्ट्रपति मादुरोले ५१ प्रतिशत र उनका विपक्षीले ४४ प्रतिशत मत ल्याएको घोषणा गरे। उक्त निकायका प्रमुखसँग मादुरोको निकट सम्बन्ध भएको ठानिन्छ।
विपक्षले भने आफ्ना उम्मेदवारले ७० प्रतिशत मत पाएको भन्दै उनी निर्वाचित भएको घोषणा गर्न माग गरेको छ। विपक्षी गठबन्धनले आफूले प्राप्त गरेको मतको विवरणमा गोन्सालेसले राष्ट्रपति मादुरोभन्दा ४० प्रतिशत धेरै मत पाएको दाबी गरेको छ।
निर्वाचनअघि भएका सर्वेक्षणहरूमा पराजित हुने देखिएका मादुरोले चुनाव जितेको घोषणा गरिएपछि विपक्षी गठबन्धन आन्दोलित बनेको छ
निकोलास मादुरो को हुन् ?
मादुरोबारे भेनेजुएलाभित्र र बाहिर पनि आक्रोश सुनिन्छ। तर ६ फिट ३ इन्च अग्ला यी नेताले राजनीतिमा पनि आफ्नो कद उँचो बनाएका छन्।
कुनै बेला उनी बस चलाक थिए। उनी लामो समयसम्म श्रमिक आन्दोलनमा आबद्ध भए। सन् २०१३ मा निकै कम मतान्तरले पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए।
शक्तिमा पुगेपछि उनीमाथि प्रजातन्त्रको अवमूल्यन गरेको र मानवाधिकार उल्लङ्घन गरेको आरोप लाग्यो। मादुरोको शासनकाल सुरु भएयता देशको आर्थिक र राजनीतिक सङ्कटका कारण विगत एक दशकमा ७८ लाख मानिसहरूले देश छोडिसकेका छन्। विपक्षीहरूमाझ कलह गराएर आफू सत्तामा टिकिरहन प्रयास गरेको आरोप उनीमाथि लाग्ने गरेको छ।
मादुरोको सरकारले देशका बहुसङ्ख्यक मानिसहरूको समर्थन पाएको देखाउने गरेको छ। उनको पार्टी सन् १९९९ यता निरन्तर सत्तामा छ।
विरोध गर्नेहरूले उनी कुनै बेला बसचालक भएको भन्दै उनीप्रति व्यङ्ग्य गर्ने गरेका छन्। तर ६१ वर्षीय यी नेताले आफ्नो विगतलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेका छन्। उनले आफू “जनताको मान्छे” भएको बताउने गरेका छन्।
टेलिभिजनमा उनलाई कहिले आफ्नी पत्नीसँग 'साल्सा' नृत्य गर्दै गरेको देखिन्छ भने कहिले 'बेसबल' वा बास्केटबल खेल्दै गरेको।
ह्युगो चाभेजका उत्तराधिकारी
पूर्वराष्ट्रपति ह्युगो चाभेजका समर्थकहरूमाझ उनी त्यति लोकप्रिय छैनन्। तथापि मादुरो चाभेजले सुरु गरेको अभियानमा निर्विरोध नेता बनेका छन्। सन् २०११ मा क्यान्सरको उपचार गराएका चाभेजले मादुरोलाई आफ्नो उत्तराधिकारी बनाएका थिए।
मादुरोले सन् २००६ देखि २०१३ सम्म चाभेज सरकारमा विदेशमन्त्रीको भूमिका पाएका थिए। सन् २०१३ को मार्चमा चाभेजको निधन भएपछि उनी केही महिना अन्तरिम राष्ट्रपति पनि बने।
त्यसपछि भएको निर्वाचनमा उनी १.६ प्रतिशत मतको अन्तरले मात्रै विजयी भए। यद्यपि विपक्षी पार्टीले निर्वाचन परिणाम निष्पक्ष नभएको दाबी गरेको थियो।
तर सन् २०१८ को निर्वाचनमा मादुरो फराकिलो मतान्तरले निर्वाचित भए। विपक्षीले उक्त निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र नभएको बताएको थियो। आफ्नो ११ वर्षे शासनकालमा उनले आफ्नो पक्षको गठबन्धन भने बलियो बनाएका छन्।
उनको सरकारमा एक दशकदेखि रक्षामन्त्री फेरिएका छैनन्। उनले देशको सैन्य शक्ति आफ्नो पक्षमा रहने सुनिश्चित गर्ने प्रयास गरेका छन्।
निर्वाचन परिषद्को घोषणाबाट मात्र निर्वाचन परिणामको टुङ्गो नलाग्ने धेरै जना ठान्छन्। मतपरिणाम घोषणा भएको केही मिनेटमै काराकासको कैयौँ क्षेत्रमा मानिसहरूले भाँडा ठटाउँदै प्रदर्शन गर्न थालेका थिए।
सन् २०१९ को ज्यानुअरीमा विपक्षी नेता ह्वान ग्वाइदोले आफ्नो दलको नियन्त्रण रहेको न्याश्नल असेम्ब्लीमा निर्वाचनमा धाँधली भएको र वास्तविक राष्ट्रपति आफू भएको घोषणा गर्दा सेना मादुरोको पक्षमा उभिएको थियो। राज्यका सबै निकायमा मादुरोको नियन्त्रणका कारण उनलाई विस्थापित गर्ने विपक्षी प्रयास त्यस बेला विफल भएको थियो।
निर्वाचन परिषद्, सर्वोच्च अदालत र महान्यायाधिवक्ता कार्यालयसहितका अङ्गमा मादुरो निकटस्थ व्यक्तिहरू छन्।
भेनेजुएलामा अब के होला
निर्वाचन परिषद्को घोषणाबाट मात्र निर्वाचन परिणामको टुङ्गो नलाग्ने धेरै जना ठान्छन्। मतपरिणाम घोषणा भएको केही मिनेटमै काराकासको कैयौँ क्षेत्रमा मानिसहरूले भाँडा ठटाउँदै प्रदर्शन गर्न थालेका थिए।
'धाँधली', आल्टामिरा क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरू चिच्याए। विपक्षी नेताहरूले आफ्ना कार्यकर्तालाई मतगणना गरिएका केन्द्रबाट बाहिर नजान निर्देशन दिएका छन्।
राजनीतिशास्त्री एड्वार्डो भालेरो असन्तुष्टि अझै चर्किने र प्रशासनले दमन गर्ने सम्भावना रहेको बताउँछन्। विपक्षी दलहरूले मानिसहरूलाई सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको अवस्थामा प्रदर्शन अझै ठूलो हुने उनी ठान्छन्।
के भेनेजुएलामाथि अझ प्रतिबन्ध लाग्ला ?
विश्वका कैयौँ नेताहरूले मादुरोलाई निर्वाचनको परिणाम जे आए पनि स्वीकार गर्न आग्रह गरेका छन्। यसबाट पनि मतपेटिकामा धाँधली भएको आशङ्का अझ बढेको छ।
गत साता ब्रजिलका राष्ट्रपतिले पनि मादुरोलाई आफूले जितेको अवस्थामा मात्रै पदमा रहने र हारेको अवस्थामा हट्नुपर्ने कुरा सिक्न भनेका थिए।
विगत एक दशकमा झन्डै ८० लाख मानिस भेनेजुएलाबाट विदेश पलायन भइसकेका छन्। तीमध्ये अधिकांश मानिसले आर्थिक सङ्कट र गरिबीका कारण देश छोडेका हुन्।
चिलीका राष्ट्रपतिले भेनेजुएलाको परिणाम घोषणा हुनुभन्दा केही समयअघि त्यहाँका निकायलाई जनताको सार्वभौमसत्ता र आफ्नो निर्णयको अधिकारलाई सम्मान गर्न भनेका थिए। संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले मादुरोले निष्पक्ष निर्वाचन सम्पन्न गरे मात्रै अमेरिकी प्रतिबन्धहरू खुकुलो हुँदै जाने सङ्केत गरेका थिए।
मतपरिणाम घोषणा भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घोषित नतिजाले भेनेजुएलाका जनताको चाहना प्रतिनिधित्व नगरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पलायन बढ्ने चिन्ता
विगत एक दशकमा झन्डै ८० लाख मानिस भेनेजुएलाबाट विदेश पलायन भइसकेका छन्। तीमध्ये अधिकांश मानिसले आर्थिक सङ्कट र गरिबीका कारण देश छोडेका हुन्।
तर केही महिनादेखि मानिसहरूले देश छोड्ने क्रम घटेको र विदेशबाट फर्किने क्रम बढेको थियो। तर मतपरिणामले भेनेजुएलाबाट ठूलो सङ्ख्यामा मानिसहरू विदेश पलायन हुने क्रम फेरि बढ्ने चिन्ता उत्पन्न भएको छ। एउटा सर्वेक्षणले मादुरोले चुनाव जितेको अवस्थामा ४४ प्रतिशत मानिसहरूले देश छोड्न चाहेको देखाएको छ।
तीमध्ये १८ प्रतिशतले यसै वर्ष देश छोड्न चाहेको बताएका छन्। बीबीसीबाट