काठमाडौं । बुधबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई कर्मचारी सरुवा व्यवस्थित गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कर्मचारी सरुवामा सफ्टवेयर प्रयोगको अवस्था र सरुवा प्रणालीमा सुधारका निम्ति कार्यदलले सुझाव पेश गरेको जनाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थित गर्न सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिंह थापामगर सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा सम्बन्धमा उठेका समस्या र चुनौतीका बारेमा सुझाव दिइएको छ । कार्यदलले कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव दिएको लोप्चनले जनाएका छन् ।
प्रतिवेदनमा कर्मचारी व्यवस्थापन प्रणाली (पिएमएस) विकास गर्ने र उक्त प्रणालीलाई निजामती किताब खानाको वैयक्तिक सूचना प्रणाली (पिआइएस) सँग आबद्ध गर्न समेत उल्लेख गरिएको छ ।
विवरणको व्यवस्थापन गर्न बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख, वैदेशिक अध्ययन, तालिम, निलम्बन कार्यदलले सुझाएको छ ।
प्रतिवेदनमा सफ्टवेयरमा संगठन संरचना र दरबन्दीको अद्यावधिक विवरण, टिप्पणी व्यवस्थापन (उठान, पेस र सदर) लगायत अभिलेख तथा स्वतः अद्यावधिक हुने व्यवस्था गर्नुपर्ने, लोकसेवा आयोगको भर्ना प्रणालीको तथ्यांकसँग यो प्रणालीलाई आबद्ध गरी कर्मचारीको माग आकृति फारामदेखि सिफारिससम्मको विवरण स्वतः लिने व्यवस्था, अतिरिक्त समूह र फाजिलमा रहेको कर्मचारीको विवरणलगायत विषय समेट्नुपर्ने बताइएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन तत्काल लागू गर्नेगरी मन्त्रालयमा गृहकार्य अघि बढाएको जनाइएको छ ।