काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
चौथो राष्ट्रिय कोदो दिवस मनाउन मंगलबार ललितपुरको खोकनामा भएको कार्यक्रममा उनले कोदोको महत्त्वबारे सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताए ।
मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको बताए । ‘केही वर्षअघि दुवै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै तिर खोज्दै हिँड्ने अवस्था आएको छ । अहिले अस्वस्थ खाना खाँदा १८–२० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य भएका छन्, पोषणका लागि पनि कोदोका अनाज नियमित खानुपर्छ,’ उनले भने ।
राष्ट्रिय कृषक समूह महासंघ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनामा सम्पन्न कार्यक्रममा पोषकीय महत्त्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ गते दिवस मनाउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघले गत वर्ष सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । कृषि तथा पशुपंक्षी मन्त्रालय, संयुक्त राष्ट्रसंघ कृषि तथा खाद्य संगठन (एफएओ), भीएसओ नेपाल लगायतको सहकार्यमा दिवस मनाइएको हो ।
‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ मंगलबार कोदो दिवस मनाइएको छ ।