काठमाडौं । कर्मचारीको सरुवा व्यवस्थित बनाउन ‘सरुवा व्यवस्थापन कार्यदल’ गठन भएको छ ।
बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसमक्ष यससम्बन्धमा प्रतिवेदन बुझाइएको हो । जेठ २९ गते सहसचिव बलराम रिज्याल संयोजकत्वमा गठित सहसचिव हेमराज तामाङ, उपसचिवत्रय महेन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिंह थापामगर सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा कर्मचारी सरुवा सम्बन्धमा उठेका सवाल, समस्या र चुनौती तथा सरुवा सम्बन्धका अवस्था र सुधारका लागि विभिन्न सुझाव समेटिएको बताइएको छ ।
प्रतिवेदन तत्काल लागू गर्ने गरी गृहकार्य भइरहेको र प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयन गर्दै सरुवाका विद्यमान समस्या र विकृति अन्त्य गर्ने तयारीमा मन्त्री मोदीले बताएका छन् ।
कार्यदलले कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेयरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । साथै कर्मचारी व्यवस्थापन प्रणाली (पिएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली (पिआइएस)सँग आबद्ध गर्ने जनाइएको छ ।
बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमजिव्जिसको यास्वुध्य-पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन यसरि नै गर्नु पर्ने बुझिएको छ ।
प्रतिवेदनमा सफ्टवेयरमा संगठनसंरचना र दरबन्दीको अद्यावधिक विवरण, टिप्पणी व्यवस्थापन-उठान, पेस र सदर लगायत अभिलेख तथा स्वतः अद्यावधिक हुने व्यवस्था गर्नुपर्ने, लोक सेवा आयोगको भर्ना प्रणालीको तथ्यांकसँग यो प्रणालीलाई आबद्ध गरी कर्मचारीको माग आकृति फारामदेखि सिफारिससम्मको विवरण समेट्नुपर्ने बताइएको छ ।