काठमाडौं । निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिरोले लाखौंको क्षति गरेको छ ।
वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका १ दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौं रोपनी धान खेत कटानको जोखिममा छ । बाढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ ।
खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिए । उनले भने, ‘निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौं घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौं खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ ।’
उनका आफ्नोसँगै स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेल लगायत पहिरो र कटानको जोखिममा परेका छन् । उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ ।
‘बाढी र पहिरोले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय सरकारलाई जानकारी गराएका छौं । वडाध्यक्षले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ,’ स्थानीय सिटौलाले भने, ‘खेतमा पानी लैजाने पक्की कुलो सबै खोलाले बगाएको छ । त्यति मात्र होइन, बस्ती नै जोखिमा रहेको छ ।’
बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर बाटो सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताए । उनका अनुसार स्थानीय ठाउँठाउँमा पहिरोको जोखिम छ ।
उक्त क्षेत्रमा जनताले खोला नियन्त्रण एवं पहिरो र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् । यहाँका स्थानीयले बस्तीमाथि सडक एवं पूर्वाधार निर्माण गर्दा तटीय क्षेत्रको जोखिमलाई ध्यान नदिएको भन्दै विरोध गरेका छन् ।