सुर्खेत । कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण ९ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीका अनुसार कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । जसमध्ये सुर्खेतमा २, दैलेखमा १, जाजरकोटमा २, रुकुम–पश्चिममा ४ जनाको मृत्यु भएको छ । रुकुम–पश्चिमका १ जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताए ।
यसैबीच ४६ जना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका ७, दैलेखका ४, सुर्खेत र डोल्पाका १/१ जना छन् ।
विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका २०५ जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
बाढीपहिरोबाट डेढ महिनाको अवधिमा प्रदेशमा १०६ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन् । ७५ वटा बेपत्ता छन् ।
बाढीपहिरोले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्यांक छ । २७ साना उद्योगमा पूर्ण रूपमा क्षति पुगेको छ भने २ विद्यालय पूर्ण तथा २ विद्यालयमा आंशिक क्षति पुगेको छ । ४ वटा सरकारी कार्यालयमा बाढीपहिरोले क्षति पुग्दा २ वटा संघसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ ।
२ करोडभन्दा बढीको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी २ करोड २८ लाख ५५ हजार ९३७ बाराबरको क्षति भएको हो । सबैभन्दा धेरै दैलेखमा ७० लाखको क्षति भएको तथ्यांक छ । यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ । जाजरकोटमा ३३ वटा घटना हुँदा ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट १६ लाख ९९ हजारको नोक्सानी भएको छ ।
कालिकोटमा १०२ मनसुनजन्य घटनामा १८ लाख ५० हजार, जुम्लामा ४ घटनामा ४० लाख, डोल्पामा १६ वटामा १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उनले जानकारी दिए ।