काठमाडौं । गएराति कास्की, मकवानपुर, लमजुङ, ओखलढुंगा, उदयपुर, बारा लगायत जिल्लामा भारी वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा कास्कीको सिक्लेसमा ८३ दशमलव ८ मिलिमिटर र मकवानपुरको भोर्लेनीमा ८० दशमलव ६ मिलिमिटर वर्षा भएको हो ।
उदयपुरको कटारीमा ७९ दशमलव ४ मिलिमिटर, मकवानपुरगढीमा ७६ दशमलव ८ मिलिमिटर, लमजुङको खुदीबजारमा ७३ दशमलव २ मिलिमिटर, ओखलढुंगाको मानेभञ्ज्याङमा ६३ दशमलव ४ मिलिमिटर र बाराको रजुवामा ६० दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाइएको छ ।