काठमाडौं । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानी काठमाडौंमा मनाइँदैछ ।
घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार राजधानीका भित्री भागका नेवार समुदायले मनाउने गरेका छन् ।
परापूर्वकालदेखि मनाउँदै आएको पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगल साँझपख खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास छ । स्थान एवं कूल परम्पराअनुसार कतै गठेमंगललाई खोला वा नदी किनारमा लगेर पनि जलाउने गरिन्छ ।
शुक्रबार बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली राक्षसको प्रतीक घिसार्दै जलाउने चलन रहेको छ ।
गोपाल वंशावलीमा गठेमंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यसो गर्दा नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिएको छ ।
पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्किने घण्टासुर राक्षसलाई मार्न १ जना तान्त्रिकले भ्यागुताको रूप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरूप घण्टाकर्णको प्रतीकका रूपमा नर्कटको प्रतिमा बनाउने गरिएको छ ।
साँझपख घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरदैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन रहेको छ ।