झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ।
झापाको बिर्तामोडमा शनिबार पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।
‘विक्रम संवत् २०७० सालमा संविधानमा माओवादीको एजेण्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो, त्यो बेला सदन र सडकबाट संघर्ष गरेर संविधान निर्माण गरेका थियौं । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन,’ उनले भने ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार लगायत विषयमा जनपक्षीय काम गरेको उनले उल्लेख गरे । त्यस अवसरमा टाइसन केरुङले आफूसँगै समाजवादी युवासंघ नेपालको सिंगो कमिटी माओवादीमा प्रवेश गरेको बताए । उनले भने, ‘संघीयता, धर्म निरपेक्षता, पहिचान लगायत मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि हामी माओवादीमा प्रवेश गरेका हौं ।’
पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकको राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताए ।
पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीलाई सबल र मजबुद बनाउन निरन्तर लागिरहने बताए । प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।