काठमाडौं । प्रत्येक तीन वर्षमा हुने नेपाल पत्रकार महासंघको निर्वाचनको पहिलो मिति गत जेठ २६ गतेका लागि तोकिएको भएतापनि पछि असार २२ गतेका लागि पुनः मिति तोकियो । तर अझै पनि निर्वाचन हुन सकेको छैन । गत वैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न २७ औँ महाधिवेशनले संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि भन्दै १८ बुँदे घोषणापत्र जारी गरेको थियो । ७७ जिल्ला, भूगोल र प्रतिष्ठान एवं एसोसिएट्सहितका १० प्रदेश र केन्द्रीय समितिका लागि एकै दिन एकै समयमा प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुन लागेको यो दोस्रो पटक थियो ।
पत्रकार महासंघले केन्द्रीय निर्वाचन समितिलाई मतदाताको अन्तिम नामावली दिन नसक्दा अझै कहिले निर्वाचन हुने भन्नेमा अन्यौल नै छ । नेपाल पत्रकार महासंघको महाधिवेशन हुनु ६ महिनाअघि नै सदस्यता नवीकरण हुनैपर्ने र नयाँ सदस्यता बन्द गर्ने विधानको प्रावधानलाई बेवास्ता गर्दा महासंघ बाहिरका स्वार्थ समूहलाई महासंघ नेतृत्वले निर्वाचनमा खेल्ने पर्याप्त अवसर दियो । महासंघबाट विदा भएपछि अन्य राजनीतिक लाभका लागि संस्थाको गरिमा नै सिध्याउने काम पनि पछिल्ला अवधिका केही नेतृत्वले गरे । जिल्ला शाखाहरुले पठाएको नामावालीमा प्रदेशले थपघट गर्ने र प्रदेशले पठाएको नामावलीमा केन्द्रले कैँची चलाउने राजनीतिक खेल खेल्दा महासंघको केन्द्रीय कार्यालय, उपत्यका प्रदेश कार्यालय र काठमाडौैं शाखा कार्यालयमा बिभिन्न राजनीतिक दलनिकट प्रेसका भातृ संगठनहरुले तालाबन्दी गरेका थिए । यद्यपी अहिले ताला भने खुलेका छन् ।
सदस्यता सुद्धिकरणको नाममा भएको राजनीतिले गर्दा कतिपय इमान्दार, कर्मठ नयाँ सदस्यहरुले महासंघको सदस्यता प्राप्त गर्न सकेका छैनन् भने कतिपय कृयाशील पत्रकारहरुको सदस्यता सुद्धिकरण अभियानका नाममा काटिएका छन् । अरुलाई सुशासनको पाठ सिकाउने, खबरदारी गर्ने र राज्यको ‘चौथो अंग’ भनि सर्वस्वीकार्य पत्रकारिता पेसा नै अहिले राजनीतिक दलको, त्यस भित्र पनि बिभिन्न गुट, समूह र व्यक्तिको तारिफ गर्ने, उछितो काढ्ने र पद हत्याउने धन्दा बनिरहेको छ । पत्रकारको छाता संगठनका कतिपय नेताहरु नै खुलेआम यस्तो कलेबरमा देखिँदा त्यसको बाछिटा पत्रकार महासंघको निर्वाचन, सदस्यता नवीकरण, सुद्धिकरण र नयाँ सदस्यता प्रदानसम्म पुगेर सबैले देख्नेगरी मझेरीमै छचल्किन पुगेको हो । पत्रकारिता भित्र देखिएका बिद्यमान समस्या वार्ता, सहमति, सहकार्यका माध्यमबाट समाधान गर्नका लागि भेला हुनुपर्ने बिभिन्न दल निकटका प्रेसका नेताहरु वार्ताको टेबुलमा बस्दा पत्रकार बनेर भन्दापनि कांग्रेस, एमाले, माओवादी, समाजवादी, आदि बनेर बस्दा पत्रकार महासंघको निर्वाचनको मिति पटक पटक तोकिएर पनि सम्पन्न हुन नसकेको सबैमा जगजाहेर नैं छ ।
‘वाचडग’को भूमिकामै प्रश्न चिन्ह खडा भएको छ । सुशासनको पाठ सिकाउने, खबरदारी गर्ने र राज्यको ‘चौथो अंग’ भनि सर्वस्वीकार्य पत्रकारिता अहिले राजनीतिक दलको, बिभिन्न गुट, समूह र व्यक्तिको तारिफ गर्ने, उछितो काढ्ने र पद हत्याउने ‘धन्दा’ बनिरहेको छ ।
नागरिकको अगुवा सामाजिक संस्थाको रुपमा पहिचान बनाएको पत्रकार महासंघमा पत्रकारिता गर्ने कृयाशील श्रमजीवि पत्रकारले नेतृत्व गर्नुपर्नेमा पत्रकारिताको नाममा अनेक धन्दा चलाउनेहरु पैसा र राजनीतिक शक्तिका आडमा नेतृत्वमा पुग्नाले श्रमजीविहरुका मुद्धा ज्यूँका त्यूँ छन् । श्रमजीवि पत्रकारहरुको स्थिती संकटग्रस्त छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति तलव खाएर बस्ने अड्डा मात्र बनेको छ । २०४६ सालको राजनीतिक आन्दोलनको सफलतापछि खुलेका ठूला भनिएका मिडिया नैं अहिले संकटमा परेका छन् । कुनै समय २४ पेजसम्म प्रकाशन हुने दैनिक पत्रिकाहरु अहिले दुब्लाएर आठ पेजमा पुगेका छन् ।
राणा शासन बिरोधी, पञ्चायती व्यवस्था बिरोधी, राजतन्त्र बिरोधी, कुरिती, कुसंस्कार र बिकृतिका बिरुद्ध चेतनाको आगो बनेर दन्किने कैयौँ साप्ताहिक पत्रिकाहरु बन्द भएका छन्, कैयौको जेनतेन धुकधुकी मात्र बँचेको छ । लोकतन्त्रपछि च्याउसरी खुलेका एफएम रेडियोहरु बिज्ञापनको अभावमा धमाधम बन्द भइरहेका छन् । महासंघको नेतृत्व गर्न पुगेकाहरुलाई यसबारे कुनैपनि चासो र चिन्ता देखिँदैन । पत्रकार महासंघमा आइएनजीओका ठेक्का, कार्यक्रम र प्रोजेक्टहरु भित्राएर र, ती प्रोजेक्टहरु अन्य निकायलाई कमिसनमा बिक्री गरेर, सूचना लुकाएर पत्रकार महासंघका उच्च पदस्थ केही व्यक्तिहरु बिदेश भ्रमणमा रम्नु पत्रकार महासंघको निर्वाचन जितेर पदमा पुगेका नेताहरुको धन्दा नै छ भन्दा फरक नपर्ला ।
पत्रकारका नेता भनिएकाहरु र नेता बन्न तीव्र इच्छा जनाएकाहरु निर्वाचनको मिति घोषणा हुनुभन्दा ६ महिना अघिदेखि नै अनुसन्धानमूलक लेख, विश्लेषण, खोजमूलक सामाग्री आदि लेख्न छोडिसकेका छन् । लेखमा आफ्नो धारणा पनि मिसिने र निस्कर्ष पनि दिनुपर्ने भएकाले त्यस लेखप्रति फरक मत राख्नेहरुले आफूलाई मतदान गर्देनन् भनेर पत्रकारहरुले विश्लेषणात्मक लेख लेख्न छोडेका हुन् । यसले पत्रकारितालाई भुत्ते बनाउँदै लगेको छ । ‘सेल्फ सेन्सरसीप’ बढ्दो मात्रामा छ । हिजोआज ‘ब्रेकिङ न्यूज’को होडबाजिमा ‘कन्फ्रिक्ट अफ इन्ट्रेस्ट’ का विषय प्रकाशन/प्रसारण गर्दा समग्र पत्रकारितामाथि नै अविश्वास पैदा भएको छ । अहिलेको पत्रकारिता अग्रगामी र ओझेलमा परेका अजेण्डा उठान गर्नमा भन्दा व्यवसायीक रुपमा नाफा/घाटामै रुमलिएको छ । यसले पत्रकारिताको ‘वाच डग’को भूमिकालाई मार्ने काम गरेको छ । केही पत्रकार र पत्रकारका नेताहरु अहिले यतिसम्म भएका छन् कि उनीहरुले समाजिक सञ्जाल फेसबुकमा कुनै पत्रकारको जन्मदिन परेको छ भने शुभकामना दिने, कोही बिरामी भएको छ भने सिघ्र स्वस्थ्यलाभको कामना लेख्ने र कसैको निधन भएको छ भने ‘रिप’ लेख्ने भन्दा अरु पत्रकारिता कर्म÷कार्य गरेको पाइँदैन/देखिँदैन ।
अहिलेको पत्रकारिता अग्रगामी र ओझेलमा परेका अजेण्डा उठान गर्नमा भन्दा व्यवसायीक रुपमा नाफा/घाटामै रुमलिएको छ । यसले पत्रकारिताको ‘वाच डग’को भूमिकालाई मार्ने काम गरेको छ ।
नेपालमा खसगरी दुईथरी पत्रकारहरु छन् । एकथरी पत्रकारिता पढेका, बुझेका, यसको गरिमालाई जोगाउन भित्रैदेखि लागिपरेका, यसैमा भविष्य देखिरहेका/खोजिरहेका, पत्रकारिता नै मूल पेशा अपनाइरहेका, यसैबाट आफ्नो घरपरिवार धानिरहेका छन् । अर्कोथरी पत्रकार मौखिके (मुखले पत्रकार हुँ भन्ने तर काम नगर्ने) समाज र अन्य मानिसका अगाडी शान देखाउनका लागि पत्रकारको कार्ड गोजिमा बोकेर ठेक्का पट्टा गर्ने, मन्त्री, सांसद, राष्ट्रपति र अन्य सरकारी उच्च पदस्थ कर्मचारीहरुसँग तस्बिर खिचाएर समाजिक सञ्जालमा पोष्ट गर्न तल्लिन छन् । उनीहरुलाई पत्रकारिता गर्नु छैन, मात्र पत्रकारको राजनीति । उनीहरुलाई श्रमजीवि पत्रकार ऐन पालना भए/नभएकोमा मतलव छैन, पत्रकारिताको ऐन÷नियम कस्त बने? कस्ता बनाउने, कस्तो परिमार्जन गर्ने? आदि विषयमा कुनै चासो र चिन्ता छैन । समाजले पत्रकार र पत्रकारितलाई सम्मानस्वरुप दिएको ‘चौथो अंग’ लाई भँजाएर, दुरुपयोग गरेर हिँड्न/खान पाए उनीहरु पत्रकार भएकोमा गर्व गरिरहेका छन् ।
हिजो व्यवस्था परिवर्तका लागि ‘मिसन पत्रकारिता’ गर्ने पत्रकारहरु आज दुःख र संकटको घडीमा छन् । उनीहरुलाई पनि आजको युगमा बाँच्न सक्ने बनाउन पत्रकार महासंघको अवको नयाँ नेतृत्वले सोच्न जरुरी छ । आजको विज्ञान र प्रविधि (आईसीटी) को युगमा पत्रकारितालाई कसरी जोड्ने? युवट्युव (सामाजिक सञ्जाल) र पत्रकारिता बिचको अन्तरलाई कसरी आममानिसबीच परिचित गराउँने? एआई (आर्टिफिशियल इन्टेलिजेन्स)लाई कसरी समाचार र समाचार कक्षमा प्रयोग गर्ने? न्युज रुम र विश्वविद्यालय पत्रकारिताका क्लास रुमबिच कसरी समन्वय गराउँने भन्नेमा पत्रकार महासंघको कु्नै पनि नेतृत्वलाई चिन्ता र चिन्तन देखिँदैन । यसैगरी पत्रकारिता क्षेत्रमा अध्ययन/अनुसान्धन गरी यस क्षेत्रमा देखिएका समग्र समस्याप्रति महासंघको आगामी नेतृत्वले उत्तिकै दत्तचित्त भएर लाग्नुपर्ने टड्कारो आवश्यकता छ ।
पत्रकार महासंघको निर्वाचनमा जितेर कार्यालयमा फोटो टाँस्नु मात्र सफलता होइन, महासंघलाई अव एनजीओ–आईएनजीओकरण हुनबाट जोगाएर सच्चा श्रमजीविहरुको हक अधिकारको लागि निर्भीकतापूर्वक आवाज बुलन्द पार्न सक्ने, लड्ने, भिड्ने ट्रेड युनियन बनाउन जरुरी छ । पत्रकारितामा लाग्न चाहने नयाँ युवा पुस्तालाई यो पेशाप्रति उज्वल भविष्य देखाउन, आकर्षित गर्न अवको नयाँ नेतृत्वले सक्नुपर्छ । पत्रकार महासंघको पहलमा सरकारद्वारा पत्रकारहरुलाई निःशुल्क दुर्घटना बिमा गराउन सफल भएजस्तै अव पत्रकारहरुलाई निःशुल्क उपचार गराउन, पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गर्न चाहने पत्रकारहरुलाई छात्रबृत्ति प्रदान गर्न पनि राज्यसँँग नयाँ नेतृवले माग गर्दै त्यसलाई सफलता हात पर्नुपर्छ ।
अवको पत्रकार महासंघको नयाँ नेतृत्वको काँधमा झन ठूलो जिम्मेवारी थपिनेवाला छ । अवको नेतृत्वले स्वरोगारमूलक मिडिया बचाउँनका लागि सरकारसँग सस्तो व्याजदरमा ऋणको व्यवस्थाका लागि आवाज उठाएर त्यो हात पार्नेगरी भिड्नु पर्नेछ । पत्रकार महासंघलाई राजनीतिक दलहरुको भातृ संस्थाको रुपमा होइन, स्वतन्त्र संस्थाका रुपमा पहिलाको जस्तै छवि निर्माण गर्न दलीय गठबन्धन भन्दा पनि स्वतन्त्र, निस्पक्ष, इमान्दार, श्रमजीवि, अध्ययनशील र बौद्धिकहरुलाई मतदानमार्फत निर्भीकतापूर्वक विजयी बनाउनु जरुरी छ । कतिपय पत्रकारहरु नैं पत्रकार महासंघमा चाहिने भन्दा बढि राजनीति भएको भन्दै त्यहाँ अव हर्क साम्पाङ र बालेन साह जस्तै स्वतन्त्र, निश्पक्ष, व्यावसायीक व्यक्ति (पत्रकार) चुनिएर नेतृत्वमा आउनुपर्नेमा जोड दिन थालेका छन् । महासंघमा पत्रकारको नेता बन्नका लागि टिकट माग्न खुमलटार, बालकोट, बुढानिलकण्ठ, कोटेश्वर वा अन्त कतै कुनै दलका नेताको घरमा जानुपर्ने परिपाटी हामी स्वयम् पत्रकारहरुले भत्काउन जरुरी छ ।
कतिपय पत्रकारहरु नैं पत्रकार महासंघमा चाहिने भन्दा बढि राजनीति भएको भन्दै त्यहाँ अव हर्क साम्पाङ र बालेन साह जस्तै स्वतन्त्र, निश्पक्ष, व्यावसायीक व्यक्ति (पत्रकार) चुनिएर नेतृत्वमा आउनुपर्नेमा जोड दिन थालेका छन् ।
पत्रकार महासंघमा राजनीतिक दलका नेता–कार्यकर्ता भन्दा पनि स्वतन्त्र छवि बनाएका पत्रकार जितेर आउन जरुरी छ । तर बिडम्बना, नेपालमा त्यस्ता पत्रकार अव बाँकी छैनन् भन्दा पनि फरक पर्दैन । राजनीतिक दलका पत्रकार सम्बन्धी भातृ संस्थाहरुमा नेकपा (माओवादी केन्द्र)को प्रेस सेन्टर, नेपाली कांग्रेसको प्रेस युनियन, नेकपा (एमाले)को प्रेस चौतारी, नेकपा (समाजवादी)को समाजवादी प्रेस संगठन, मधेश निकट राजनीतिक दलहरुको प्रेस मञ्च नेपाल, र अन्य दलहरु निकटमा प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ आदि छन् । यदि भोलिका दिनमा यीनै दल निकटका नेताले सञ्चालन गरेका सञ्चारमाध्यममा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन भएन भने ती मिडिया सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्न सघाउने र प्रेस विज्ञप्ति जारी गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघले खुट्टा कमाउँन सक्छ । त्यसैले पनि हामीलाई कुनै पनि राजनीतिक दलका अन्धभक्त कार्याकर्ता पत्रकारको नेताको रुपमा स्वीकार्य छैन ।
पात्रकारितामा राजनीति घुसेपछि स्वतन्त्रता र ‘वाचडग’को भूमिकामै प्रश्न चिन्ह खडा भएको छ । अतः नेपाल पत्रकार महासंघको आगामी नेतृत्व कस्तो छान्ने तपाइँ–हामी सबै श्रमजीवि पत्रकारको हातमा उत्तिकै जिम्मेवारी छ । यदि हामीले त्यो जिम्मेवारी सही ढंगले पालना गर्न सक्यौँ भने त्यसले आगामी तीन वर्षसम्मका लागि सच्चा, योग्य, र पहरेदारी गर्नसक्ने नेतृत्व चयन गर्ला, होइन भने मात्र पर्चाकारिता !
(लेखक पत्रकारिता एवम् प्राध्यापनमा संलग्न हुनुहुन्छ)