एजेनसी । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेको बीबीसी बाङ्ग्लाले जनाएको छ। उनले आफ्नो पदमबाट राजीनामा पनि दिएकी छन्।
हजारौँ प्रदर्शनकारीहररु ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहररुले हसिनाको राजीनामा माग्दै आएका थिए।
सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहररुले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।
स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट विमान चढेर देशबाट बाहिर गएका हुन्। हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ।
बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। बाङ्ग्लाभाषाको पत्रिका 'प्रोथोम आलो'को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले 'साउन्ड ग्रिनेड' र अश्रुग्यास प्रहार गरेको थियो।
ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ।
सडकमा सेना पनि
जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ।
सेनाप्रमुख वाकर–उजजमानले स्थानीय समयानुसार अपराह्ण २ बजे सम्बोधन गर्न लागेका छन्। ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ।
ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्।
प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ।
नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई 'ढाकासम्मको लामो मार्च' भनिएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन्।
'कर्फ्यू तोडेर मेरा धेरै साथीहरू र विभिन्न क्षेत्रका मानिसहरू विरोधप्रदर्शनमा सहभागी हुन आउँदै छन्। मानिसहरू ढाकाबाहिरबाट आउँदै छन्। बाहिरबाट आएका प्रदर्शनकारीहरूलाई मानिसहरूले आश्रय दिएका छन्। यो तल्लो तहदेखि भएको आन्दोलन हो,' आन्दोलनकारी विद्यार्थी समूहसँग आबद्ध सायेम फारुकले बीबीसी संवाददाता सौतिक बिस्वासलाई ढाकाबाट फोनमा भने।
फारुकका अनुसार मानिसहरू २० किलोमिटर लामो बाटो हिँडेर ढाका विश्वविद्यालय जान लागेका छन्। 'सबै कुरा बन्द छ। असहयोग आन्दोलन चलेको छ। विद्यालय, कार्यालय र अदालतहरू बन्द छन्,' उनले भने।
उनका अनुसार विद्यार्थीहरूले स्थानीय समायानुसार अपराह्ण २ बजे भेला भएर के गर्ने भन्ने निर्णय गर्ने छन्।
प्रधानमन्त्रीले के भनिन्
प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई “आतङ्कवादी”को सङ्ज्ञा दिएकी छन्। उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको छ।
विद्यार्थीहरूको प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले विगत केही सातामा झन्डै विपक्षी दलका १०,००० समर्थक र विद्यार्थीहरूलाई पक्राउ गरिएको थियो।
आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान गरेका थिए।
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्यालीको आयोजना गरेको थियो।
दुवै पक्षको प्रदर्शनका कारण बाङ्ग्लादेशमा आगामी केही दिनहरू तनावपूर्ण रहने ठानिएको छ।