एजेनसी । वंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र उनी देश छोडेर विदेश पलायन भएको विवरण आएपछि हजारौँ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको ढाकास्थित सरकारी निवासमा प्रवेश गरेका छन्।
सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।
बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी छन्।समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्।
ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।”
रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ। टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ।
केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ।
सेनाको भूमिका कस्तो ?
सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।
आफ्नो सम्बोधनमा बाङ्ग्लादेशका सेनाप्रमुख वकार उज जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका छन्।
“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उनले भने।
हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्। उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन्। उनले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन्।
सोमवार बिहानैदरेखि ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो।ढाकानजिकै जात्राबारी क्षेत्रमा सोमवार पनि हिंसात्मक झडप भएका विवरण आएको छ। ढाका ट्रिब्यूनले छ जना मारिएको जनाएको छ भने 'प्रोथोम आलो'ले गोली लागेर तीन जनाको ज्यान गएको उल्लेख गरेको छ।
मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन।
“विद्यार्थीदेखि रिक्साचालकहरू यदि सबै सहभागी भइरहे भने जनआन्दोलनको रूप लिन सक्छ,” सोमवारको प्रदर्शनतिर सङ्केत गर्दै राजनीतिक विश्लेषक मुबासर हसनले बीबीसीसँग दिउँसो भनेका थिए ।
“यो आफ्नो कार्यकालमा उनले भोगेको सबैभन्दा कडा चुनौती हो। यो कुनै राजनीतिक दलबाट माग गरिएको हैन। जनसङ्ख्याको ठूलो हिस्साबाट आइरहेको आवाज हो।”
अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था थियो।
नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकालेका थिए। त्यसलाई ूढाकासम्मको लामो मार्चू भनिएको थियो।