काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरणका विषयमा छलफल हुनेछ । मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनमा मन्त्रालयबाट भए गरेका काम, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।