काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विमानस्थलबाट हुने अवैध गतिविधि रोक्न त्यहाँ रहेका सबै सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री महतले विमानस्थल भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण लगायत सम्पूर्ण निकायहरूबीच समन्वय र सूचनाको आदानप्रदान भए अवैध गतिविधि रोक्न सकिने बताएका हुन् ।
एउटा निकायको जोडबलले मात्रै केही परिणाम ननिस्कने बताउँदै अर्थमन्त्री महतले सबै निकायले उच्च सतर्कता अपनाउँदै जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको बताए । उनले निरीक्षण पछिको छलफलमा आफूले सोही अनुसारको निर्देशन दिएको बताए। विमानस्थलमा प्रविधि अपडेट गर्नेदेखि जनशक्तिलाई दक्ष बनाउन सरकार संवेदनशील रहेको उनले बताए ।
‘तस्करीहरूले नयाँ(नयाँ प्रविधिहरूको प्रयोग गरिरहेका छन्। हामीले हाम्रो प्रविधिलाई पनि त्यही अनुसारको अपग्रेड गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरूलाई चाहिने जनशक्ति विकासदेखि प्रविधि अपग्रेड गर्ने कुरामा मन्त्रालयको पूर्ण सहयोग रहन्छ ।’
उनले भन्सारमा अस्वाभाविक गतिविधि भइरहेका छन् भने ती कुराहरूलाई अनुसन्धानमा जोडिएका व्यक्तिहरूले निगरानीमा राख्ने र त्यसका आधारमा सूचना आदानप्रदान हुनुपर्ने उनले बताए ।
१०० किलो सुन प्रकरणमा पनि सूचनाको आदानप्रदान भएकाले समात्न सकिएको उनले बताए । ‘त्यो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिहरूको प्रविधि दुरुपयोग गर्ने प्रयास विफल हुन्छ,’ उनले भने ।
अर्थमन्त्री महतले कुनै पनि बहानामा उदासीन देखाउने र आफ्नो जिम्मेवारीमा क्रियाशील नहुनेमाथि शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिइएको बताए ।
उनले तस्कर गर्नेले कस्ता उपाय अपनाउन सक्छन् भन्ने बारेमा अनुसन्धान गरिनुपर्ने र त्यसको आधारमा कुनै पनि अस्वाभाविक गतिविधि भएको देखिए तत्काल डिटेक्ट गर्नुपर्ने बताए ।
१०० किलो सुन प्रकरणमा अनुसन्धान जारी रहेको र अनुसन्धानपछि मात्रै कहाँ कमजोरी भयो भन्ने खुल्ने अर्थमन्त्री महतले बताए । उनले यस प्रकरणमा स्वतन्त्र रूपमा अनुसन्धान गर्न सरकारले पूर्ण सहयोग गर्ने पनि बताए ।