वीरगञ्ज। बितेको साल ०८० कार्तिक १३ गते बाराको सदरमुकाम कलैयास्थित बाल एकता बाेर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारमाथि दिउँसै गोली प्रहार भयो। भारतबाट हतियारसहित आएकाे अपराधिक समूहले दिनदहाडै स्वर्णकारलाई गोली प्रहार गरी हत्या गरेको थियो। गोली लागेका स्वर्णकारको सोही दिन वीरगञ्जस्थित बयोद्धा अस्पतालमा मृत्यु भयो।
यसरी दिनदहाडै गोली प्रहारको घटनामा पेस्तोल र कटुवा पेस्तोलको प्रयोग भएको थियो। घटनामा संलग्न रहेको आरोपमा अहिले सात जना अभियुक्तहरू पुर्पक्षको लागि जेलमा छन्। याे घटना देशैभरि फैलिएकाे थियाे। घटना सेलाउन नपाउँदै जिल्लामा अर्को गोली प्रहार गरी हत्याको घटना भयो। गत जेठ ३२ जिल्लाको सदरमुकाम कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहालाई समसाझै गोली हानियाे।
आदर्श कोतवाल गाउँपालिका–२ निवासी कुशवाहा मोटरसाइकलमा बसेर कलैया आउँदै गरेको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी हत्या गरेका थिए। कुशवाहाको हत्यामा कटुवा पेस्तोल, मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल प्रयोग भएको बारा प्रहरीको दाबी छ।
असार १७ गते प्रहरीले एक थान कटुवा पेस्तोल, मेड इन युएसए लेखिएको चेम्बरमा गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र सोमा लाग्ने सोमा लाग्ने गोलीसहित बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमारलाई पक्राउ गरी मुद्दा चलाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले सात जना माथि मुद्दा चलाइसकेको छ। तर कुशवाहाको हत्यामा संलग्न रहेका मुख्य सुटर भने अझै पक्राउ परेका छैनन्। प्रहरीले गाउँघरकै विवादका कारण हत्या भएको भने पनि हालसम्म मुख्य सुटर भने फरार नै रहेका छन्।
यसरी बारामा बितेको आर्थिक वर्ष ०८०/८१ मा यी दुईवटा घटनाले जिल्लाबासीहरू त्रसित भए।
जिल्लामा हतियारको प्रयोग गरी अपराधिक घटनाहरू बढेको स्वीकार गर्दै ती हतियासरहित घटनामा संलग्नहरूलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको बाराका प्रहरी उपरीक्षक एसपी महेन्द्र विष्टले बताए। उनले भारतसँग खुल्ला सिमानाका कारणले पनि उताबाट हतियार लिएर आएर जिल्लामा अपराधिक घटना घट्ने गरेको बताए।
सिमानाकामा हामीले कडाइका साथ चेकजाँच गर्दै आएका छौं ताकि त्यहाँबाट हतियारहरू नआओस,’ उनले भने।
अपराधिक घटना कम गर्न सिमानाकासहित जिल्लामा पनि चेकजाँच र सुरक्षा व्यवस्थामा कडाइ गरिएको एसपी विष्टकाे भनाइ छ।
उता रौतहटमा पनि बितेको आवमा दिनदहाडै हतियार प्रयोग गरी लुटपाटका घटनाहरू घटेका छन्। बितेको वर्ष चैत २ गते जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाँपस्थित शिवम मनी ट्रान्सफरका सञ्चालक नितेश कुमार साहलाई काउण्टरमै दिउँसै गोली प्रहार गरी लुटपाट भयो।
बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकलमा आएका तीन जना भारतीय व्यक्तिले गोली प्रहार गरेका थिए। लुटपाटको घटनापछि प्रहरीले भने स्थानीयको सहयोगमा तीनैजनालाई तत्कालै पक्राउ गरेको थियो। उनीहरूको साथबाट घटनामा प्रयोग भएको गोली लोडसहितको कटुवा पेस्तोल एक थान, एक थान चाइनिज पेस्तोल, सोमा लाग्ने एक थान म्याग्जिन पनि बरामद गरेको थियो।
बितेको आवमा सानातिना हतियारसहित पक्राउ परिरहेकाे राैतहटकी प्रहरी प्रवक्ता (डिएसपी) एलिजा गिरीले जानकारी दिइन्।
साथै कहिलेकाहीं सरपाइज चेकिङका अप्रेशनहरू पनि चलाउने गरेको उनले बताइन्। ‘खुल्ला नाकाले हतियारसम्बन्धि चेकजाँच सिमानाकामा गरिरहेका छौं। हामीसँग हतियार चेक गर्ने कुनै प्रविधि पनि नभएकाले चेकजाँचमा नै कडाइ गर्ने गरेका छौं,’ उनले भनिन्।