दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् ।
विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढेर पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोखे।
उनका अनुसार एक दर्जनभन्दा बढी स्थानीय नै प्रधानाध्यापक बनेर अन्यत्र गएपछि विद्यालयलाई चटक्कै बिर्से । यसै विद्यालयमा पढी, पढाएकी समेत सरस्वती बस्नेत प्रदेश सभा सदस्य हुँदै मन्त्री पनि बनिन् तर विद्यालय भवन जीर्ण हुँदा चासोसम्म देखाइनन् । उनले चाहेको भए भवन बन्थ्यो, दरबन्दी थपिन्थ्यो होला ।
यसै विद्यालयमा पढेका सोयमबहादुर खड्का पालिकाका अध्यक्ष बने । पाँच वर्षको अवधिमा पुलुक्क पनि हेरेनन् । उनले पनि सङ् होला । पढेको र गाउँको विद्यालय भएकाले हामीले हाम्रातर्फबाट भरमग्दुर प्रयास भयो तर सुनुवाइ भएन, गुनासो हावाले उडाएर लग्यो,” स्थानीय सुरेलले दुःखेसो पोख्दै भने, “हाम्रो पहुँच पुगेन । विद्यालयको माया लाग्छ । बुवाले पढ्नुभयो । मैले पढेँ । अहिले छोरी पढ्दै छिन् तर पहुँच नहुँदा टुलु टुलु हेर्नुबाहेक केही पनि गर्न सकिनँ । मन हुनेको धन वा पहुँच हुँदो रहेनछ, धन वा पहुँच हुनेको मन हुँदो रहेनछ ।
पूर्वविद्यार्थी मधुसूदन आचार्य भन्छन, “विद्यालयको आफ्नै जग्गा छ । पहुँच नपुग्दा भूकम्पप्रतिरोधी भवनसम्म निर्माण हुन सकेन । विद्यालय संरक्षण सरकारले गर्नुपर्ने हो । कसैको नजर नपुग्दा पुरानै भवन पनि पहिरोले तान्न लागेको छ । भवन जीर्ण बनेकै कारण विद्यार्थीको सङ्ख्या घट्दै गएको छ ।” प्रधानाध्यापक सूर्यबहादुर खत्रीका अनुसार भवनको ठाउँ ठाउँमा पानी चुहिएर बाटा थाप्नु परेको छ । बिजोगले कक्षा १ देखि ५ चलेको विद्यालयमा अहिले १७ जना विद्यार्थी अध्ययनरत छन् । कुनै दिन डेढ सय विद्यार्थी थिए । विद्यार्थी घट्दै गएपछि अहिले दरबन्दी दुई मात्र रहेको छ । बहुकक्षा शिक्षण विधिबाट पढाउने गरिएको छ ।