नेपालगन्ज । बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ ।
सोसियल अवेयरनेस फर एजुकेसनल सेफ नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय कर्जा लिएको पाइएको बताए।
उनले संस्थाको प्रतिनिधि बन्दै सुकलालले २०७५ साल असार २१ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ ९हाल ६०, फुल्टेक्राको एकता नगरमा रहेको ११ ‘क’ किनं १३०२ को ४ कट्ठा जग्गा २७ लाख रुपियाँमा बिक्री गरेका हुन्। बर्दिया पाताभार–२ की ४६ वर्षीय रिना बादीलाई राजीनामा गरिदिएको मालपोत कार्यालय बाँकेको राजीनामापत्रमा उल्लेख छ । २७ लाख रुपियाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा आएको नदेखिएको अध्यक्ष नेपालीले बताए।
भूमि सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय नेपालगन्ज बाँकेको राजीनामामा रजिस्ट्रेसन नं। १४रक मा संस्था सेफ को चलानी नं। ९३ मिति २०७५ र२१ को संस्थाका प्रतिनिधि सुकलाल नेपाली खटाई २७ लाख रुपियाँमा मिति २०७५ जेठ २ गतेको संस्थाको माइन्युट, चलानी नम्बर ११८४२, २०७४ वैशाख २० गते चुक्ता प्रमाणित तथा २०७५ वैशाख १६ गते २०७४र७५ सालको तिरो तिरेको नम्बर ९१५६ को रसिद नम्बर उल्लेख गरिएको छ । साक्षीमा सुर्खेत छिन्छु–७ बस्ने जिउली बादी, बाँके नेपालगन्ज–१३ का हेमन्त सिंह साउद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेका छन् । उल्लेखित जग्गामा घर नभएको तथा बाटो पनि नभएको बेहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकि उक्त जग्गामा दुईतले भवन पहिलेदेखि नै निर्माण भएको थियो भने बाटो पनि थियो ।
२०७५ जेठ २ गते बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको देखिएको छ । तर सो निर्णयमा पनि अधिकांश किर्ते हस्ताक्षर रहेको पाइएको वर्तमान अध्यक्ष नेपालीले बताए । उनका अनुसार संस्थाले हालै पाएको एक परियोजनाका लागि दातृ निकायले माग गरेको घर जग्गाको लालपुर्जालगायतका कागजपत्र खोज्ने क्रममा संस्थाको जग्गा पाँच वर्षअघि नै बिक्री भइसकेको खुलासा भएको हो । संस्थाको जग्गा किर्ते हस्ताक्षर गरेर आफ्नी श्रीमतीको नाममा बिक्री गर्ने सुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार ठगीको मुद्दा दर्ता गराइएको अध्यक्ष नेपालीले बताए । समुदायका अगुवाको सुझाव अनुसार सोमबार नै जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गराउनेबारेमा दबाब दिइएको सेफ नेपालले जनाएको छ ।