काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व शुक्रबार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।
नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने विश्वास छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरू भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने चलन छ ।
वराह पुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि पञ्चमीको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा शुक्रबार विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटी लगायत परिकार प्रसाद चढाउने गरिएको छ ।