धरान । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले व्यापारमा लगानी बढे देश समृद्धिमा जाने बताउनुभएको छ । श्री पब्लिक हाइस्कुलको ७८ औं विद्यालय स्थापना दिवस समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।
देशको आर्थिक अवस्था दिनानुदिन खस्कँदो अवस्थामा छ, यसका लागि व्यापारमा लगानी बढाए बढाउन आवश्यक रहेको उनले चर्चा गरे । श्री पब्लिक हाइस्कुलले स्थापनाकालदेखि समाज रुपान्तरण र शैक्षिक जागरणमा खेलेको महत्वपूर्ण भूमिका कोशी प्रदेशका लागि प्रशंसनीय रहेको मुख्यमन्त्री कार्कीले बताए ।
२००३ सालमा स्थापना भएको हाइस्कूलले २०२० सालदेखि निरन्तर रुपमा स्मारिका प्रकाशन गर्नु आफैंमा गौरवको कुरा भएको बताउँदै विद्यालयले आफ्नो ऐतिहासिकतालाई कायम गर्दै विविध विषयलाई समेटेर ‘पीयूष’ स्मारिका प्रकाशन गरेर शैक्षिक गतिविधिलाई जीवन्त बनाएको उनको भनाइ छ ।
कोशी प्रदेशको पुरानो र स्थापित विद्यालयमध्येको एक रहेको पब्लिक स्कुलको पठनपाठन उत्कृष्ट र गुणस्तरीय रहेकाले धरान शैक्षिक हिसाबले उत्कृष्ट नगर रहेको बताए ।
राणा शासनकालमा विद्यालय स्थापना गर्नु भनेको अत्यन्त चुनौतीपूर्ण काम थियो । त्यस्तो विषम परिस्थितिमा वि.सं. २००३ साउन २३ गते यस पब्लिक हाइस्कुलको स्थापना सुनसरीको धरानमा भएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराँतीले बताए।
२००३ साल साउन २३ गते जहानियाँ राणा शासनका बेला शिक्षाको ज्योति छर्न धरानका स्थानीय शिक्षाप्रेमी व्यक्तित्वको पहलमा विद्यालय स्थापना गरिएको स्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए । विद्यालयमा विद्यार्थीको सङ्ख्या ३ हजारभन्दा बढी पुग्नुले पब्लिक हाइस्कुल सबैको रोजाइको विद्यालय बनेको झाले बताए ।
यसैगरी शिक्षक विष्णुप्रसाद खतिवडाको “किरिच” कविता सङ्ग्रहको विमोचन समेत मुख्यमन्त्री कार्कीले गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्रविक्रम बेघा, वडाध्यक्ष नेत्र काफ्लेलगायत पब्लिक स्कुलका शिक्षक शिक्षिका, विद्यार्थीको उपस्थिति थियो ।