काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नुपर्ने बताएका छन् ।
सामुदायिक वन दिवस २०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘वनको दीगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै उनले प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैंभरि संरक्षण हुन नसक्ने बताए ।
‘मान्छेसँग नजोडिएको संरक्षणको कुनै अर्थ हुँदैन,’ उनले भने ।
परम्परागत संरक्षणका विषय अहिलेको अवस्थामा सार्थक नहुने उनले बताए । प्रकृतिलाई आजको मान्छेको आवश्यकता अनुसार प्रयोग गर्ने गरी नीति बनाउनुपर्ने उनको राय छ ।
पोखरेले अहिलेका धेरै कानून प्रकृति र वन संरक्षणमा बाधक भएको बताए । त्यसैले यस्ता कानून सुधार नगरेसम्म वन संरक्षण हुन नसक्ने उनले प्रष्ट पारे ।
अर्ग्यानिक उत्पादन र पर्यापर्यटनलाई जोड्न सक्ने हो भने नेपालको समृद्धिको आधार त्यसैले तयार हुने पोखरेलले बताए । मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीति बनाउनुपर्ने उनको सुझाव छ ।
नेपालको वन सम्बन्धी कानूनमा कमजोर दण्डित हुने तर पहुँचवालाले दोहन गरिरहने स्थिति रहेको उनले बताए । वन पैदावारको उपभोगको विषयमा समग्र अध्ययन गरी कानून बनाउनुपर्नेमा उनले जोड दिए । ‘मान्छे र प्रकृति कहिल्यै अलग नगर्ने गरी नीति निर्माण गर्ने कुरामा जाऊँ,’ उनले भने ।
उनले अरूका लागि हाम्रो प्रकृति संरक्षण गरिदिन नसकिने बताए । विश्व समुदायका लागि नेपालको प्रकृति नेपालीले संरक्षण गरिदिन नसकिने उनले प्रष्ट पारे । यो दृष्टिकोणका आधारमा नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
‘हाम्रो प्रकृति हाम्रा लागि, मुख्य प्रश्न यो हो, हाम्रो प्रकृति अरूका लागि भन्ने कुरा दोस्रो कुरा हो,’ उनले भने ।