धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते अपराह्न २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले शुक्रबार प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।
सरकारले २ दिनअघि मात्रै प्रदेश सभाको चालू चौथो अधिवेशन अन्त्य गरेर बिहीबार राजस्व संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ ।
अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलन सम्बन्धी काम अगाडि बढेको छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलन लगायतको काम ठप्प भएको थियो ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेश सभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।
सरकारले अध्यादेश जारी गरी कर संकलनको वातावारण बनाए पनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सदस्यको प्रतिनिधित्व रहेको छ ।