काठमाडौं । ‘असारमा १५मा हिलोमा खुट्टा हाल्दा र दही चिउरा खाँदा गति परिन्छ । साउन १५ मा खीर खाँदा गति परिन्छ । माघे संक्रान्तिमा एक टुक्रो भएपनि तरुल वा चाकु खानुपर्छ गति परिन्छ । दशैँको टिकाको दिन जमिन छोड्न लिंगे पिङ वा चाकाचुली पिङमा खुट्टा टेक्दा गति परिन्छ ।’ यस्ता अनेकौँ नेपाली भनाई, रितिथिती र परम्परा अझै पनि हाम्रो समाजमा विद्यमान छन् । त्यसैले हाम्रो संस्कार र संस्कृति निकै धनि छ । अनि मौलिक छ र युगौँदेखि बाँचिरहेको छ । पर्वसँग मेल खाने उखान, टुक्का र भनाई जस्तै हाम्रा गीत संगीत पनि मौसम अनुसारका छ्रन् । घाम, पानी, खँडेरी, बाढी, पहिरो, चट्याङ, भूकम्प, आँधी, हुरी, अभाव, दुःख, पिडा, चोट, सुख, गरिवी, आदि हाम्रा गीत, संगीत र साहित्यका मूल विषयबस्तु हुन् ।
यो वर्षायाम हो । यो मौसममा कृषकहरु खेतिपातिको काममा घाम–पानी नभनी खेत, बारीमा घुम, प्लाष्टिक आदि पानी ओता लगाउने सामग्री प्रयोग गरेर आसारे भाकामा धान र कोदोको मेलो अगाडि बढाउँछन् । यो आलेखमा झरी सम्वन्धि केही नयाँ तथा पुराना गीत, लोकभाका, लोकलय र साहित्यको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन् है मच्याङले रुँदै धरर
नौडाँडा पारि छ, कम्पनी सहर...
यो प्रेम–विरहको भाका हो । आफ्नो थातथलोबाट परदेशिएका युवाको प्रेमिल–वेदना यसमा समेटिएको छ । तर, झरीले दुःख र विरहको भाव मात्र पैदा गर्दैन । सर्जकहरुले झरीलाई कहिले दुःखको, कहिले रोमान्सको बिम्व बनाएका छन् । दर्के झरीले आनन्दित माहोल पनि बनाइदिन्छ ।
बेजोडसँग झरी परिरहेको बखत । बार्दलीमा बसेर तात्तातो चिया–कफी घुट्काइरहेको बेला वारीपारी र आसपासका दृश्यहरु झन मादक लाग्छन् । रंगीबिरंगी छातामा ओत लागेका मान्छेहरु, पानीमा निथ्रुक्क भिजेका नवयौवनाहरु, डाँडामाथि उड्दै गरेका सेता बादलका रुनारुनी । हावाको झोक्कासँगै बत्तिएर आएको पानीका बाछिटाले स्पर्श गरिरहँदा छेवैको रेडियो सेटमा बजिरहेको गीत पनि जो कसैलाई उत्तिकै आनन्दित लाग्न सक्छ ।
ए झरी
नझरिदेउ यसरी
एकान्त यो रातमा, मलाई पागल गरी
झरिदेउ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन् मेरी मायालु मेरै वरिपरि
झरीले मान्छेको मनमा अनेकन् भाव पैदा गर्छ । कहिले यो विरहको शोकधुन जस्तै सुनिन्छ, कहिले मस्त बैंसको प्रेमिल भाका । परिस्थिति र मनस्थितिबीच तालमेल मिलाइदिन्छ, झरीले । कवि–सर्जकका लागि झरी एक बिम्ब हो, पात्रको मनोभाव चित्रण गर्ने । झरीसँग जोडिएर आउने यस्तै भावहरुलाई गीतमा गाइएको छ । थुप्रै गीत छन्, झरीका ।
पानीको रिमझिम वर्षाको बेला
धित मारेर किन रुझेकी ...
मध्य बर्खाले छोपिसकेको छ । खेती किसानीका लागि यो सर्वोत्तम याम पनि हो । बाली लगाउने, गोडमेल गर्ने, फलफूल तथा घाँसपातका बोटबिरुवा रोप्ने चटारोले छपक्कै छोप्छ किसानलाई । भनिन्छ, मानो रोपेर मुरी उब्जाउने बेला हो यो ।
असारे महिना आफंैमा रसिक पनि हुन्छ । मेलापातमा होस् वा पर्ममा, दौंतरीसँग छिल्लिंदै, गीत गाउँदै रमाइलो गर्ने मूड बन्छ । खासगरी खेती किसानीमा एकअर्कालाई हौसला दिने, रौस थप्ने कुरा त्यही गीत मार्फत गरिन्छ । बर्खा–झरी, हिलो–माटोसँग अभिन्न साइनो जोड्दै आफ्नो कर्मलाई उल्लासमय बनाउँछन् लाठ्ठे–रोपाहारहरुले ।
खेतका गह्रा–गह्रामा हिलाम्मे भएर, हलगोरु जोत्दै, दलदल माटोमा छुपुछुपु धान रोप्दै, बाउसे र रोपाहारहरु आफ्ना दौंतरीसँग छिल्लिंदै गर्दा कतिपयलाई सायद भित्रभित्रै उकुस मुकुस भएर आउँदो हो, लाजले भुतुक्कै पनि त हुँदो हो !
रोप न रोप रोपाहारै नानी म पँज्याइदिउँला बिउ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ ।
झरीको एकोहोरो ध्वनिमा लय मिलाउँदै गाइने गीतमा पनि विविधता छ, भूगोल अनुसार । पूर्वी भेगमा गाइने असारे गीत र पश्चिममा गाइने गीतमा एकरुपता हुन्न । असारे गीतलाई पूर्वमा रसिया भनिन्छ, पश्चिममा काँठेभाका । यद्यपि लामो लेग्रो तानेर गाउने शैली भने सबैतिर उस्तै हुन्छ ।
न बाहिर बोक्रो न भित्र खोक्रो पाकेछ कसार
खेतका गरा डप्किन थाले लागेछ असार ।
उहिले–उहिले रोपाइँमा बाजागाजाको समेत व्यवस्था हुन्थे । यसलाई बेठी लगाउने भनिन्थ्यो । पञ्चेबाजा घन्काएर असारे भाका हाल्दै कोही हल गोरु जोत्ने, कोही आली ताछ्ने र कोही दाँदे लगाउन ब्यस्त हुन्छन् । हलो, जुवा, अनौ, जोतारो, हल्लँुडो, सोइला, ठेडी, फाली यी मध्य एउटाले काम गरेन भने रोपाईँ नैं अड्किन्छ । गीत गाउँदै बाउसे, ब्याडे, रोपाहारका भाका सुन्न र हेर्न पनि कम्ता रमाइलो हुन्न ! रोपाइँको रौनक सम्झनलायक हन्छ । उता घरबेटीले दिउँसा खाजा ल्याएर खेतको आलीमा बाँड्दा त्यसको स्वाद पनि काइदाकै हुन्छ । तर, अहिले यस्तो प्रचलन हराउँदैछ । कृषिमा प्रविधिको प्रयोगसँगै हलगोरु, हलो, जुवा, दाँदेको चलन हराउन थालेको छ । पहाडका डाँडा काँडाको गरा, सुर्का र फगटामा हाते ट्याक्टर दौडाउँदै रापाईँको मेलो तयार पार्न थालिएको छ ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले ।
पूर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर ।
नेपालमा धान रोप्दा गाइने यस्ता गीतलाई असारे गीत पनि भनिन्छ । नेपालमा खासगरी असार महिनादेखि साउनको पहिलो हप्तासम्म धान रोप्ने गरिन्छ । यो अवधिमा पानीको सिंचाई अभाव हुने पाखो तथा भिरालो बारीमा कोदो पनि रोपाईँ हुन्छ । त्यसो त कोदो कतिपय स्थानमा भदौमासमेत रोप्ने गरिन्छ । रोपाईंका बेला कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन् । गीतले थकाई, परिश्रम बिर्साउँदै आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका अझ खुल्दछन् ।
सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा...
असारे भाकाले भौगोलिक विविधता पनि समेटेको पाइन्छ । वेइमानी वर्षाले कहिले काहिँ बेइमान पनि गरिदिन्छ । पर्नु पर्ने बेलामा पर्दैन, खँडेरी भइदिन्छ, नचाहिएको बेला, नचाहिएको भूगोलमा भने मुसलधारे पर्छ । बाढी आउँछ, पहिरो जान्छ र रोपिएका धान र कोदो सिनित्तै पारेर लैजान्छ ।
असारे गीतलाई पूर्वी भेगमा ‘रसिया’ पनि भन्ने चलन छ भने पश्चिमतिर ‘काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाइ अनिमात्र अन्तिम फाँकी भन्ने चलन छ । यस भाकाका फाँकीहरू १६÷१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ । असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक समेत बनाइदिन्छ ।
भरी परेको दिन
म टोलाइरहेँ
तिम्रो बाटो हेर्दै
म कुरिरहेँ...
(लेखक पत्रकारिता एवं प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ)