काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकले आन्दोलनको स्वरूप परिवर्तन गरी जनतामा जाने निष्कर्ष निकालेको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरूप बनाई नयाँ ढंगबाट जनतामा जानेबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशित गरेको बताए ।
बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सांगठनिक, राजनीतिक र पारिस्थितिकीय कार्यभारबारे पनि धारणा राखेको उनले जानकारी दिए ।
बैठकमा नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरू पर्शुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले धारणा राखेका थिए ।
परिस्थिति जटिल भएको र त्यसका चुनौतीको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरूले जोड दिएको उनले बताए ।