काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलि आईतबारदेखि बस्दैछ ।
आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरण लगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।
पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, समाजवाद सम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुनेछ ।
देशव्यापी रूपमा जनपरिचालन अभियानअन्तर्गत सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभा लगायत आवश्यक कार्यक्रमहरू सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माण लगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले जानकारी दिए ।
बैठकले अभियान सम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर। नगर लगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ ।