काठमाडौं । २६ जुलाईमा सुरु भएको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । अन्तिम दिन आज १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३ /३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक/एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ । पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।
चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ । आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।
दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।
पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।