काठमाडौं । डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले अपिल गरेका छन् । डेङ्गी फैलाउने लामखुट्टे सफा पानीमा बस्ने बताउँदै उनले पानी जम्न नदिन र एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाको एक्लो प्रयासले महामारी रोग नियन्त्रण तथा रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनतर्फ प्रयत्न गर्न, महामारी रोगप्रति सचेत रहन, महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न उनले अपिल गरेका छन् ।
महानगरपालिकाले नगरवासीलाई डेङ्गी रोग लाग्नवाट बचाउन योजनावद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडा स्तरमा २६९ वटा सचेतनामूलक र्याली निकालिएको छ । प्रत्येक बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान समेत चलाइएको छ । ति स्थानमा औषधि छर्कने गरिएको छ । यस अभियानमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी खटिरहेका छन् ।
अभिभावकसम्म संक्रमणका बारेमा चेतना पुर्याउन सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत विद्यार्थी बिचमा डेङ्गी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी रोगको बारेमा उत्कृष्ट कला देखाउने, विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम छन् ।
यस रोगको संक्रमण दर विशेषगरि साउन, भाद्र, असोज र कार्तिक महिनासम्म तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन (११८०) २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स समेत प्रयोग गर्न सकिनेछ ।
डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।
एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भइ टोकेमा डेङ्गी रोग लाग्ने गर्छ । संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखापर्छ ।