काठमाडौं । सरकारी अस्पताल सुधार्न स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग अस्पतालको भिड व्यवस्थापनका लागि ओपिडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्ततालगायत ९ बुँदे निर्णयसहित अस्पताललाई परिपत्र गरेको थियो । सोहीअनुसार आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानएको छ ।
मन्त्री पौडेलका अनुसार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टेकु अस्पताल, थापाथली अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, नारायणी अस्पतालले प्रगति विवरण पठाएका छन् । त्यस्तै, मोनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, डडेलधुरा अस्पताल, आयुर्वेद चिकित्सालय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि आफ्नो प्रगति विवरण पठाएका छन् ।
अस्पतालहरूले पठाएका विवरणमा अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्था प्रयास सुरुआत गरिएको उल्लेख छ ।