काठमाडौं । सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरू समयमै पेश गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।
समयमा निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने बोर्डले चेतावनी समेत दिएको छ । बोर्डले समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी दिएको हो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरू त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र पेश गर्न बोर्डले निर्देशन दिएको छ । साथै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र पेश गर्न निर्देशन दिइएको छ ।
सूचना जारी गर्दै संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य–मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्न भनिएको छ ।
बिहीबार बोर्डले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र पेश गर्न सूचित गरेको छ ।
धितोपत्र सम्बन्धी कानुनमा उल्लेख भएका अन्य सूचना, जानकारी तथा विवरणहरू उल्लेखित समयमा नै पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
उक्त निर्देशन बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरूको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा विभिन्न व्यवस्थाहरू कार्यानवयन गराउन दिइएको बोर्डले उल्लेख गरेको छ ।
सम्पूर्ण सूचीकृत संगठित संस्थाहरूलाई संगठित संस्थाहरूबाट उक्त व्यवस्थाहरूको पूर्ण पालना नभएकोले आवश्यक अनुसारको सूचना, जानकारी तथा विवरण समयमा पेश/प्रवाह गर्न निर्देशन दिइएको जनाइएको छ ।
बोर्डले तोकेका निर्देशन कार्यान्वयन नभए धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने बोर्डले प्रस्ट्याएको छ ।