काठमाडौं । सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आइतबार काठमार्डौंमा आयोजना गरेको २७ औं रजत वर्ष समारोहमा सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताएका हुन्।
मन्त्री गुरुङले भने, “आदिवासी जनजाति, पिछडिएको वर्गका लागि विशेष प्रबन्धको प्रयोग गरिदिएको होइन ती आदिवासी कहाँ आए यो उपलब्धिमा उभिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्नुपर्यो। यो संविधान ठूलो उपलब्धि हो।”
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भनेको ठूलो उपलब्धि भएको बताए। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अबको एक वर्षभित्र सबै सरकारी मिडियामा नयाँ नीति ल्याइने बताए।
उनले भने, “यो एक वर्षभित्र सबैमा नयाँ नीति बनाइन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना अनुरुपको नीति बनाइन्छ। सूचना प्रविधिमा भएको विकासले मान्छेको सभ्यता, विकास धेरै अगाडि बढिसक्यो।” यसका लागि नयाँ नीति, ऐन बनाउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ।
मन्त्री गुरुङले अबको तीनदेखि चार वर्षभित्र पूर्णरुपमा लागू हुने गरी डिजिटल नेपालको काम पनि अघि बढेको बताए।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले शुभकामना मन्तव्य दिनुहुँदै समाजिक तथा राजनीतिक आन्दोलनमा महासंघले सहयोगी भूमिका खेलेको बताए। उनले परिपक्व पत्रकारिता हराउँदै गएको भन्नुहुँदै फोनिजमा पनि वास्तविक पत्रकारको सङ्ख्या वृद्धि हुनुपर्ने बताए।
फोनिजको रजत वर्ष समारोहका अवसरमा फोनिज राष्ट्रिय पत्रकारिता समान २०८१ बाट नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई सम्मनित हुनुभएको छ। फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता पुरस्कारबाट सन्तोष दहित पुरस्कृत भए।
यसैगरी, गोरखा रेडियोका फिमा गुरुङ, प्रभात दैनिकका विष्णु तामाङ, इलाम पोष्टका सटेन्द्र जबेगु पुरस्कृत भए। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे लामा शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा लगायतले मन्तव्य राखे।