काठमाडौं । क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले नेपाल पत्रकार महासंघको निर्वाचन तालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ । मोर्चाका संयोजक योगेन्द्र प्रताप शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै मोर्चाले उक्त माग गरेको हो ।
मोर्चामा आवद्ध बिभिन्न १० वटा पत्रकार सञ्जालका अध्यक्षहरुको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा भनिएको छ, 'नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन प्रक्रिया लगातार अवरुद्ध हुनु आपत्तिजनक छ । सदस्यता थप्ने होडबाजी र भागबण्डा कै कारण महासंघले नयाँ नेतृत्व पाउने कुरा अनिश्चित हुनु अत्यन्त दुःखद् विषय हो ।'
मोर्चाको नेतृत्वमा विभिन्न सरोकारवाला सञ्चार संगठन तथा अभियन्ताहरुको आइतबार बसेको बैठकले महासंघको नेतृत्वले चार महिना अघि महाधिवेशन सकेर पनि निर्वाचन प्रक्रिया रोकिनु लज्जास्पद भएको हुँदा त्यसप्रति दुःख व्यक्त गर्दै अल्टिमेटम सहित चरणवद्ध आन्दोलनमा जान बाध्य हुने जानकारी गराएको छ। अबिलम्ब सदस्यताको अन्तिम नामावलीसहित निर्वाचन तालिका सार्वजनिक गर्न माग गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न नसके महासंघ नेतृत्वले सार्वजनिक रुपमा क्षमायाचनासहित सामूहिक राजिनामा दिन विज्ञप्तिमार्फत माग गरिएको छ । अटेर गरेर पदमा बसिरहे चरणवद्धरुपमा धर्ना, घेराऊ लगायत सशक्त कार्यक्रमसहित आन्दोलनमा जाने स्पष्ट पारिएको छ ।
प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणमा गरेको मनपरीतन्त्र र भेदभावप्रति पनि गम्भीर आपत्ति प्रकट गर्दै तत्काल बिनाशर्त वर्गीकरण पुनः प्रकाशित गर्न माग माग गरिएको छ । साथै, अटेर गरी अघि बढे सशक्त दवावमूलक कार्यक्रम अघि बढाउन आफूहरु बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा गजुरधन राई, अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), उमिद बाग्चन्द, अध्यक्ष, सूचनाको हकको लागि राष्ट्रिय महासंघ, नारायण शर्मा, संयोजक, क्रान्तिकारी प्रेस संगठन, गोपाल पौड्याल, अध्यक्ष, मिडिया नेपाल, मनोज कुमार यादव कावा. अध्यक्ष, प्रेस मञ्च नेपाल, विदुर ढुंगेल अध्यक्ष प्रेस नेपाल, गोपाल बराइली, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, जन्मदेव जैसी अध्यक्ष, श्रमजीवी–पत्रकार संघ, नेपाल, दामोदर प्रसाद दवाडी, अध्यक्ष, लोकतान्त्रिक छापा माध्यम सञ्जाल, देवीप्रसाद सापकोटा नेपाली सञ्चारक्षेत्र सुधार अभियन्ताको हस्ताक्षर रहेको छ ।