काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त माग गरेको छ ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा (५) बमोजिम तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दरखास्त आह्वान गरेको छ ।
२०८० साउन २१ गते नियुक्त सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन छ । रिक्त पदपूर्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।
सूचनाअनुसार योग्यता पुगेको नेपाली नागरिकले भदौ १० गतेभित्र दरखास्त दिनुपर्नेछ । लगानी बोर्डको सीईओ नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि २०८१ अनुसार इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानून, इन्जिनीयरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको समेत हुनुपर्नेछ ।
उम्मेदवारले कुनैपनि विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र (पीआर/ग्रीनकार्ड) नलिएको हुनुपर्ने र ऐनको दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानूनले अयोग्य नभएको व्यक्ति लगानी बोर्डको सीईओका लागि योग्य हुने सूचनामा उल्लेख छ ।