काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दलहरू बलियो हुनुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले धेरैभन्दा पनि बलिया दल आवश्यक रहेका बताए ।
‘धेरै दल होइन, बलिया र निर्णायक दलको आवश्यकता छ,’ उनले भने ।
सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको उनले बताए । देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखरेलले स्पष्ट पारे । लोकतन्त्रको आधारभूत जग तयार गर्न कांग्रेस–एमाले एक ठाउँमा उभिनुपरेको उनले बताए ।
कुनै राजनीतिक दलको एकल बहुमतको अवस्था नरहेको र अझ संविधान संशोधन गर्नुपर्दा दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले प्रमुख दल नमिले त्यो आवश्यकता पूरा हुन नसक्ने पोखरेलले बताए । स्थायित्व प्रदान गर्ने आधारलाई केन्द्रमा राखेर २ ठूला दलको सरकार बनेको पोखरेलले स्पष्ट पारेका छन् ।
मुलुक लगातार आर्थिक संकटमा गएको कारण पनि एमालेले सरकारको नेतृत्व गर्नुपरेको उनले बताए । प्रमुख पार्टी नमिल्दासम्म अहिलेको आर्थिक अवस्थामा सुधार नआउने आवाज उठेपछि त्यसको लागि पनि कांग्रेस एमाले मिल्नुपरेको उनको धारणा छ । कतिपयले उद्योगी व्यवसायीको कुरा सुनेर कांग्रेस र एमाले मिलेका भनि टिप्पणी गर्ने गरेका बताउँदै उनले देश बनाउने सवालमा उनीहरूको कुरा पनि सुनेको स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेको सरकार बनेपछि केही सकारात्मक सुधारका संकेत देखिएको बताए । अहिले पुँजीबजारमा उल्लेख्य सुधार आएको, प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको बताउँदै उनले अझै पनि आर्थिक क्षेत्रमा भने आशातीत सुधार भइनसकेको बताए । यसलाई सुधार गर्दै लैजानुपर्नेमा पोखरेलले जोड दिए ।
उनले संवैधानिक र कानूनी क्षेत्रमा देखिएका समस्या सुधारका लागि क्रमशः काम गर्दै जाने बताए । यसले देशको अवस्थामा थप सुधार हुने उनले विश्वास व्यक्त गरे ।
माओवादीलाई समेत समावेश गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने सोच कांग्रेस–एमालेको भए पनि प्रचण्ड त्यसमा सहमत नभएका उनले बताए । देशलाई स्थिरता दिने गरी संविधान संशोधन गर्दा माओवादी पार्टीको स्थान नहुने डर प्रचण्डलाई रहेको पोखरेलको विश्लेषण छ ।
नेपालको वामपन्थी आन्दोलनमा अब अलग–अलग दल आवश्यकता नरहेको उनले बताए । ‘ढिलोचाँडो माओवादी आन्दोलनमा रहेका साथीहरू पनि आउने ठाउँ यही नै हो,’ उनले भने ।