काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तारको ४ महिने अभियान सञ्चालन गर्ने भएको छ ।
५ लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो हप्तादेखि मंसिर मसान्तसम्म आधारभूत संगठन निर्माण अभियान सुरु गर्ने जनाइएको छ ।
संघ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिंगो पार्टीपंक्ति आगामी ४ महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई १ दिवसीय प्रशिक्षण समेत दिइएको छ ।
ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आईतबारदेखि पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन सोमबार २१५ जना केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी ४ महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरेका छन् ।
संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उनको भनाइ थियो । ‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगर लगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौं,’ उनले भने ।
देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभा लगायत आवश्यक कार्यक्रम तय भएको जनाइएको छ ।