काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ। मङ्गलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।
बैठकमा भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
प्रमुख सचेतक परियारले भने, ‘‘मुलतः हामीले तीन वटा विषयमा छलफल चलाएका छौँ । एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ ।’’
उनले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशङ्का भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको बताए ।
‘‘संसदको गतिविधिमा हामीले नेपाल विद्युत प्राधिकरणको वक्यौतासम्बन्धी मुद्दा जोडतोडका साथ उठाउने र त्यो वक्यौताको विषयमा अरु केही हुनु हुँदैन । राज्यले पाउनुपर्ने कुरा उठाउनुपर्छ भन्ने हाम्रो धारणा छ । भ्रष्टाचारसम्बन्धी कानुन जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्नेकुरा कदाचित स्वीकार्य छैन ।,’’ उनले भने, ‘‘ भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशङ्का भए चल्नुपर्छ । निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउनेबाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई पनि बेजोडका साथ सदनमा उठाउने ।’’
उनले पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने बताए । उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको जानकारी दिए ।
प्रमुख सचेतक परियारले भने, ‘‘संसदको कानुन समितिले जुन सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्ने भनिएको छ, त्यसमा पनि छलफल चलायौँ र आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भयो । सर्वसहमतिले अघि बढाउने र संक्रमणकालीन न्यायका बारेमा नेताहरु बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ ।’’
उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरुले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको बताए । साथै बैठकमा आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भएको बताए ।