काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०७९/८० मा भ्रष्टाचारका एक सय ६२ मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दायर मुद्दाको यो संख्या पछिल्ला तीन वर्षयताकै धेरै हो । अख्तियारले ती मध्ये ४ ठुला मुद्दासमेत दायर गरेको छ ।
यी हुन् अख्तियारले दायर गरेका ४ ठुला मुद्दा
१. बेटीका नाममा किनिएका साइकलमा १० करोड भ्रष्टाचार
मधेस सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको ठहर गरेर अख्तियारले प्रदेश सचिव, आपूर्तिकर्तालगायत आठविरुद्ध गत वर्ष १८ साउनमा विशेष अदालतमा मुद्दा दायर गर्यो ।
२. बिपीका उपकुलपतिविरुद्ध मुद्दा
प्राध्यापक उपाधि पाएको भनेर ‘झुटो दाबी’ गरेको निष्कर्ष निकाल्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियारले गत ९ माघमा विशेष अदालतमा मुद्दा दायर गर्यो ।
३. सेक्युरिटी प्रिन्टिङमा ६९ करोड घोटाला
अख्तियारले सेक्युरिटी प्रिन्टिङका आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड घोटाला भएको ठहरसहित गत ३ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
४. सडक नभएको स्थानमा मोटरेबल पुल बनाएर अनियमितता गर्ने सचिव र दुई उपसचिवविरुद्ध मुद्दा
सडक नै नभएको खोलामा मोटरेबल पुल बनाएर सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेशका मन्त्रालय सचिव तथा उपसचिवसरहका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।