बुटवल । लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने प्रयास भइरहेको बुटवलमा प्राविधिक क्षेत्रको विकासका लागि सरकारी तहबाटै इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तयारी सुरु भएको छ ।
बुटवलको विकासका लागि बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) प्रमुख संस्था मानिन्छ । त्यसलाई अहिले प्राविधिक शिक्षालय (इन्जिनियरिङ कलेज) बनाउन थालिएको हो । बीटीआईमा अहिले अध्यापन भइरहेका कोर्षलाई यथावत राख्दै काठमाडौं विश्वविद्यालयको आंगिक क्याप्सन गराउने गरी प्रस्ताव गरिएको छ ।
बुटवल र पश्चिम नेपालकै इलेक्ट्रिकल क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गरिरहेको बीटीआईलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा प्राविधिक शिक्षालय बनाउने गरी अर्थमन्त्री विष्णु पौडेलले प्रकृया अघि बढाएका हुन् । त्यसमा बुटवल उपमहानगरपालिकाले सहकार्य गर्नेछ । अर्थमन्त्री पौडेलसँग मंगलबार काठमाडौंमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, बीटीआईका पूर्व विद्यार्थी पोखराका हरी पाण्डेसहितले छलफल गरेका छन् । छलफलमा बीटीआईलाई काठमाडौं विश्वविद्यालय (केयू)को आंगिक क्याम्पसको रुपमा स्थापित गरी इन्जिनियरिङ विषयको अध्यापनका लागि अनुसन्धान प्रक्रिया अघि बढाउने सहमतिसहित छलफल भएको अर्थ मन्त्री पौडेलले बताए ।
‘बुटवलको विकासमा बीटीआई एक प्रतिष्ठित र पुरानो संस्था हो, त्यसलाई अब एक उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरेर पश्चिम नेपालकै प्राविधिक शिक्षाको गन्तब्य बनाउने प्रयास सुरु गरेका छौं,’ उनले भने, ‘त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकेर अध्ययन सुरु गरेका छौं ।’ उनले बीटीआईले उत्पादन गरेको अधिकांश जनशक्ति अहिले पनि रोजगारीमा रहेको र विदेशमा पनि दक्ष जनशक्तिको रुपमा स्थापित भइरहेको बताए ।
बीटीआईमा नेपाल हाइड्रो र इलेक्ट्रिक कम्पनीको १ दशमलव ३ प्रतिशत सेयर छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपनि त्यसलाई सरकारले २०६० सालमा सरकार मातहत ल्याएर गैर नाफामूलक प्राविधिक शैक्षिक संस्थामा परिणत गरेको थियो । अहिले बीटीआई सञ्चालन समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख अध्यक्ष, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयसहित ४ जना सरकारी, उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ र इन्जिनियरिङ एशोसियसन लुम्बिनीबाट एक/एक प्रतिनिधि रहने व्यवस्था छ ।