दोलखा । आफूले अध्ययन गरेको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति दिन दुर्गम गौरीशंकर गाउँपालिका– ८ खारेका अनन्तबहादुर कुँवरले अक्षयकोष स्थापना गरिदिए । त्यो पनि उनीसँग धन भएर होइन, मेहनतले कमाएको पैसाले। तर विद्यालयले त्यही अक्षयकोषको दुरुपयोग गरेको थाहा पाएपछि ८८ वर्षीय अनन्तबहादुर अहिले आफूले राखेको रकम खोजिदिन भन्दै दुईदिन लगाएर सदरमुकाम चरिकोट आएका छन्।वर्षभरि जनै बाटेर कमाएको रकमले गरिब र जेहेन्दार विद्यार्थीलाई केही राहत हुन्छ भनेर उनले बुबाआमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका थिए ।
२०७७ साल फागुनमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ आफूले २२ वर्षको उमेरमा पहिलोपटक कखरा सिकेको गाउँकै खारे माध्यमिक विद्यालयमा अक्षयकोषकोरुपमा उनले जम्मा गरेका थिए । तर कोष जम्मा गरेपनि त्यसबापतको छात्रवृत्ति वितरण भने गर्न नपाएको उनको भनाइ छ । उनी आफूले राखेको अक्षयकोषको रकम खोजिदिन माग गर्दै खारेबाट पहिरो छिचोल्दै दुई दिन लगाएर सदरमुकाम आएका हुन् ।
'अक्षयकोष स्थापना भएको ४ वर्ष लाग्यो, तर अहिलेसम्म मैले विद्यालयको कोही पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग गर्न पाएको छैन,' उनी भन्छन्, 'मैले कोष राखिदिएँ, तर त्यसको ब्याजबाट वितरण हुनुपर्ने पुरस्कार बितरण भएन । एउटामात्रै होइन, अरु दुई वटा छात्रवृत्रिको रकम पनि यसैगरी गायब बनाइएको छ ।'
सदरमुकाम आएका उनले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई समेत भेटेर अक्षयकोषको रकम खोजिदिन आग्रह गरेका छन् ।
उनका अनुसार उनीसहित २०७४ सालमा सगरमाथा आरोहण दलकी महिला सदस्य पुजन आचार्यले राखिदिएको एक लाख र २०७७ मा हरिद्धार कुँवरले राखिदिएको एक लाख ११ हजार एकसय ११ रुपैयाँको अक्षयकोष पनि गायब भएको छ । तीन वटै छात्रवृत्ति अक्षयकोषको रकमबारे अनन्तबहादुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
‘विद्यालयका गरिब र जेहेन्दार बाबुनानीलाइ थोरै भएपनि पढ्न सहयोग हुन्छ भनेर अक्षय कोष राखिदियौं,’ उनले भने, ‘बाबुनानी हैन विद्यालयका हेडमास्टरलाई पो खर्च गर्न राखिदिएको जस्तो भयो । धेरै धन भएर विद्यालयमा अक्षयकोष राखेको होइन । त्यहीभएर खोजी गर्नैपर्ने भएर म यहाँसम्म आएँ ।’
गाउँमा एक्लै बस्दै आएका उनले जनै बनाएर वर्षमा २० देखि २५ हजार कमाउन गरेको बताए । त्यही रकम जम्मा गरेर उनले अक्षयकोष खडा गरदिएका थिए । तर ४ वर्षदेखि विद्यालयले कोषको रकमको ब्याजबाट कुनै पनि विद्यार्थीलाई सहयोग नगरेको उनले बताए । अक्षयकोष स्थापना हुँदा प्रधानाध्यापक नरेन्द्र महत थिए । हाल उनी त्यो विद्यालयबाट सरुवा भएर अन्यत्रै कार्यरत छन् ।
तर उनकै पालामा अक्षयकोष हिनामिना भएको कुँवरको आरोप छ । ‘उनकै पालमा अक्षयकोष हिनामिना भयो। गाउँमा बुडाबुढी मात्रै छन्, विद्यालयको बारेमा कसैले सोधीखोजी गर्दैनन्,' उनी भन्छन्, 'अक्षयकोष माँसेका छन्, सोधीखाजी गरे हप्कीदप्की गर्छन् ।'
गाउँमा विद्यालयमा भएको अनियमितता रोक्न आफू बुढ्यौली उमेरमा पनि कष्टपूर्ण यात्रा गरेर २० कोष टाढा रहेको सदरमुकाम आइपुगेको उनले बताए ।
अनन्तबहादुरको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अक्षयकोषको रकम खोजीदिने वचन दिएका छन् । विद्यालयमा गडबड भएको पाएको पोखरेलले बताए । ‘विगतमा पनि विद्यार्थीका लागि उक्त विद्यालयमा सामान खरिदमा अनियमिता भएको पाएका छौं,’ उनले भने, ‘उहाँको अक्षयकोष अर्को बैंकमा सारिदिएका रैछन्, अन्य दुई कोषका बारेमा जवाफ पठाउन भनेको छु ।’
अक्षयकोष र विद्यालयका गतिविधिका बारेमा तत्काल जिल्ला शिक्षा समन्वय कार्यालयलाई भनेर थप कारबाही अघि बढाउने प्रजिअ पोखरेलले बताए ।