काठमाडौं । सरकारले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्ने तयारी गरेको छ । इन्धन र टिकटमा सहुलियत दिएर पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउने तयारीमा सरकार जुटेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसहचिव रहनेगरी सरकारले गठन गरेको कार्यदलले तयार गरेको उक्त कार्ययोजनामा सहुलियत दिनुपर्ने सुझाइएको छ । सोही सुझावअनुसार प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थलमा उडान भर्ने एयरलाइन्सलाई इन्धन र टिकटमा सहुलियत दिने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आगामी दुई वर्ष अर्थात् २०८३ भदौसम्म हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा सहुलियत दिन लागेको जानकारी दिए । उक्त अवधिसम्म यी दुई हवाई टिकटमा लगाउने गरेको भ्याट पनि नलिने जानकारी दिए ।
हाल पर्यटन बोर्डले विमानस्थलहरूबाट प्रतिटिकट निश्चित शुल्क लिने गरेको छ । सो अवधिसम्म यी दुई विमानस्थलमा उक्त शुल्क पनि छुट दिन लागिएको पर्यटनमन्त्री पाण्डेले बताए ।
यी दुवै एयरपोर्ट वैदेशिक ऋणमा निर्माण भए पनि सञ्चालनमा भने आउन सकेका छैनन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १८ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । तर, नियमित उडान भने अझै अनिश्चित छ । यो विमानस्थल २५ अर्ब ३४ करोड लागतमा बनेको हो ।
यस्तै भैरहवास्थित गौतम बुद्ध विमानस्थल २०७९ वैशाख ८ गतेदेखि नै सञ्चालनमा आएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थल उद्घाटन गरेका थिए । उक्त विमानस्थलमा थाई एयर एसियाले गत साउन १८ गतेदेखि साताको चार दिन भैरहवा - थाइल्यान्ड उडान अनुमतिसमेत पाइसकेको छ । यो विमानस्थल ३५ अर्ब ६६ करोडमा निर्माण सम्पन्न भएको हो ।
चिनियाँ ऋणमा बनेका यी विमानस्थलको किस्ता नेपाल सरकारले प्रत्येक ६ महिनामा ९५ करोड ४५ लाखभन्दा बढी किस्ता तिरिरहेको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसक्दा आम्दानी शून्य भए पनि सरकारले वर्षमा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम किस्ताका रुपमा तिर्नुपरेको छ ।