एजेन्सी । मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको एमपक्सका कारण त्यहाँको जनस्वास्थ्यसम्बन्धी निकायले महादेशभरि स्वास्थ्य आपत्काल घोषणा गर्नेबारे छलफल गरिरहेको छ । अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ । विज्ञहरुले आफूहरुले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन् ।
एमपक्स कति सामान्य हो र कुनकुन देशमा देखिएको छ ?
मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ । यो मानिसहरुलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो । तर यो कम घातक भएको बताइन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरहरुबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यो रोग प्रायः उष्णतटीय वर्षावन नजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरुमा पाइन्छ। यो क्षेत्रमा वर्षेनी हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ । पन्ध्र वर्ष मुनिका बालबालिका यसबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । यो भाइरसका प्रमुख दुई वटा प्रकार धेरै फैलिएका छन् । “क्लेड १” मध्य अफ्रिकामा समुदायस्तरमा फैलिएको छ । “क्लेड १बी” चाहिँ नयाँ प्रजाति हो र यो थप सङ्क्रामक छ । पछिल्लो प्रकोप यही प्रजातिका कारण फैलिएको बताइएको छ ।
अफ्रिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सन् २०२४ को आरम्भदेखि जुलाईको अन्त्यसम्ममा मात्रै १४ हजार ५०० जनाभन्दा धेरै यसबाट सङ्क्रमित भएका छन् । यो अवधिमा एमपक्सबाट ४५० जनाको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२३ को यही अवधिसँग तुलना गरेर हेर्दा सङ्क्रमणमा १६० प्रतिशत र मृत्युदरमा १९ प्रतिशत वृद्धि भएको देखिएको छ ।
एमपक्सका ९६ प्रतिशत सङ्क्रमण डीआर कङ्गोमा भए पनि यसको सङ्क्रमण छिमेकी राष्ट्रहरु बुरुन्डी, केन्या, रवान्डा र युगान्डामा पनि फैलिइसकेको छ । तर ती देशहरुमा समुदाय स्तरमा यसको सङ्क्रमण देखिएको छैन । यसको कम गम्भीर र कम सङ्क्रामक रहेको भेरिअन्ट “क्लेड ११” ले सन् २०२२ मा पश्चिम अफ्रिकामा देखिएको थियो र विश्वव्यापीरूपमा फैलिएको थियो । सन् २०२३ को जुनमा नेपालमा पनि पहिलो पटक एक जना विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो। तर नेपालमा उक्त सङ्क्रमण फैलन पाएन ।
एमपक्स त्यसबेला युरोप, एशिया र अफ्रिकाका करिब १०० देशहरुमा फैलिएको थियो । त्यसपछि जोखिम समूहमा रहेका मानिसहरुलाई यसविरुद्ध खोप दिन सुरु गरिएको थियो । डीआर कङ्गो जस्ता देशहरुमा यसको खोप सहजै उपलब्ध छैन । जसकारण स्वास्थ्य अधिकारीहरू यो प्रकोपको नियन्त्रणलाई लिएर चिन्तित देखिएका छन् ।
एमपक्सका लक्षणहरू के हुन् ?
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । जब ज्वरो उच्च हुन्छ त्यसपछि शरीरमा बिमिराहरु देखा पर्न सक्छन् । यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ । हात र पैतालामा बढी देखिन्छ ।
बिमिराहरु निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ । तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ । यसको सङ्क्रमणबाट आउने बिमिरा १४ देखि २१ दिनमा आफैँ निको भएर जाने हुन्छन् ।
तर गम्भीर बिरामीहरुमा शरीरभरि नै बिमिराहरु आउने हुन्छन् । मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दुख दिने हुन्छ ।
यो कसरी सर्छ ?
सङ्क्रमित व्यक्तिसँगको नजिकको संसर्गबाट एमपक्स सर्न सक्छ । यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ । अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ ।
भाइरसबाट सङ्क्रमित भएका वस्तु जस्तै रगत, लुगा कपडा वा तौलिया छोएर पनि यो सर्न सक्छ । त्यस्तै बाँदर, मुसा वा लोखर्के लगायतका जनावरका माध्यमबाट पनि यो सर्न सक्छ । सन् २०२२ को प्रकोपमा यो भाइरस यौन संसर्गबाट फैलिएको पाइएको थियो । यो पटक डीआर कङ्गोमा सङ्क्रमण फैलनुमा पनि यौन संसर्ग जिम्मेवार रहेको ठानिएको छ ।
एमपक्सको जोखिममा को छन् ?
एमपक्सका अधिकांश सङ्क्रमणहरु यौन क्रियाकलापमा सक्रिय मानिसहरुमा र समलिङ्गीसँग यौन संसर्गमा संलग्न पुरुषहरुमा देखिएको छ । धेरै यौन जोडी बनाएका वा नयाँ जोडी बनाउनेहरु पनि यसको जोखिममा हुन्छन् ।
एमपक्सको लक्षण भएका मानिसहरुसँग निकट रहेका मानिसहरु र स्वास्थ्यकर्मी तथा उनीहरूका परिवारका सदस्यहरु पनि जोखिम रहन्छन् । एमपक्स सङ्क्रमित मानिसहरुसँग निकट सम्पर्कमा नआउन मानिसहरुलाई सुझाव दिइएको छ । आफ्नो समुदायमा भाइरस फैलिएको अवस्थामा बारम्बार साबुन पानीले हात धुन भनिएको छ । यसबाट निको भए पनि १२ हप्तासम्म यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ ।
उपचार के हो ?
बिफरको उपचारका लागि विकास गरिएको थेरापी एमपक्सको उपचारमा पनि उपयोगी देखिएको छ । तर यो कति प्रभावकारी छ भन्ने अनुसन्धान भएको छैन । सङ्क्रमण रोकथाम गरेर यसको प्रकोप नियन्त्रण गर्न सकिन्छ ।
यसको उपचारका लागि सबैभन्दा राम्रो चाहिँ खोप हो । एमपक्सविरुद्ध तीन वटा खोप विकास भएका छन् । तर खोप जोखिममा रहेका वा सङ्क्रमितसँग निकट सम्पर्कमा रहनुपर्ने मानिसहरुका लागि मात्रै यसको खोप सिफारिस गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सबै मानिसहरुले यसको खोप लगाउनुपर्ने आवश्यकता नरहेको जनाएको छ ।
एमपक्सको नयाँ प्रजातिविरुद्ध अहिले उपलब्ध खोपहरू कति प्रभावकारी छन् भन्ने पनि अध्ययन हुन बाँकी छ । विश्व स्वास्थ्य सङ्गठनले खोप उत्पादकहरुलाई एमपक्सको खोप आपत्कालीन प्रयोगका लागि मात्रै उपलब्ध गराउन भनेको छ । खोपको आवश्यकता भएको भनिएका देशहरुमा पनि यस विरुद्धको खोपले औपचारिक स्वीकृति पाएको छैन । बीबीसी