काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यक्रमको नाम प्रधानमन्त्री वा ठूलाको नाममा नभई जनताको नाममा राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारको बैठकमा मन्त्री, सचिव लगायतलाई निर्देशन दिँदै उनले प्रधानमन्त्री लगायतका नामको साटो जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
‘कार्यक्रमहरू प्रधानमन्त्री लगायतका ठूला नाममा राख्ने काम भयो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस्,’ उनले भने ।
बैठकमा उनले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिए । ‘गरीबलाई कानून देखाएर मात्रै हुँदैन, उनीहरूलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ,’ उनले भने ।
यसअघि बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयका मन्त्री लगायतलाई निर्देशन दिँदै १०० दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिएका थिए । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।