काठमाडौं । नेपाल आयल निगमले शुक्रबार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रहेकोमा १६२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ रहेकोमा १६४ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रहेकोमा १६५ रुपैयाँ कायम गरिएको छ ।
डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रुपैयाँ रहेकोमा १५२ रुपैयाँ कायम गरिएको छ । दोस्रो वर्गका लागि १५७ रहेकोमा १५४ रुपैयाँ र तेस्रो वर्गका लागि १५८ रहेकोमा १५५ रुपैयाँ कायम गरिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौं, दिपायललाई राखिएको छ ।