काठमाडौं । अब ग्यास बिक्रेता प्रमाणीकरण अनिवार्य हुने भएको छ । अति संवेदनशील मानिने ग्यास कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले यस्तो निर्णय गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टको संयोजन भएको बैठकले ३ निर्णय भएको हो ।
महांसघका अध्यक्ष चन्द थापाका अनुसार ग्यास बिक्रेता प्रमाणीकरण मंसिर १ गतेदेखि अनिवार्य लागू हुन्छ । त्यसका लागि कात्तिक मसान्तसम्म सबै बिक्रेताहरू प्रमाणीकरणको अवधारणमा आउनुपर्छ । बिक्रेता प्रमाणीकरणको अवधारणमा नआउने बिक्रेताले मंसिरदेखि ग्यास बिक्री गर्न नपाउने निर्णय भएको थापाले बताए ।
‘बैठकमा मुख्यतया ३ निर्णय भयो । पहिलो निर्णय मंसिर १ बाट अनिवार्य प्रमाणीकरण गर्ने, प्रमाणीकरणमा नआउने बिक्रेताले बिक्री गर्न नपाउने भन्नेछ,’ थापाले भने, ‘दोस्रो निर्णय पुराना सिलिन्डर बजारमा नपठाउने, उद्योगबाट बिक्रेतामा आइहाले पुन: उद्योगमा फिर्ता पठाउने र तेस्रो सर्बसाधरणमा सचेतना फैलाउने निर्णय भएको छ ।’
बिक्रेता प्रमाणीकरण नहुँदा डिलर संख्या र ग्यास खपतको यकिन हुन सकेको छैन । एउटै बिक्रेताले धेरै कम्पनीको ग्यास बिक्री गर्दा सर्वसाधरणसमेत ठगिएका छन । डिलर प्रमाणीकरण हुँदा बिक्रेताहरू निगम र उद्योगको मातहतमा हुन्छन् । कुन कम्पनीको ग्यास कुन क्षेत्रमा भनेर सजिलै पहिचान गर्न सकिन्छ । त्यसका लागि पनि प्रमाणीकरण जरुरी भएको जानकारहरु बताउँछन् ।
मुलुकभर ५९ ग्यास उद्योग छन् । निगमले ०७८ सालमा गरेको ग्यास सिलिन्डर प्रमाणीकरणअनुसार मुलुकभर १ करोड ४४ लाख सिलिन्डर छन् । तर कारोबार अस्तव्यस्त छ । कारोबार व्यवस्थित बनाउन ग्यास बिक्रेता प्रमाणीकरण एउटा माध्यम भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । प्रमाणीकरणमा आउन नचाहने बिक्रेतालाई ग्यास नदिने बताए ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पनि अब छिटै ग्यास बिक्रेता प्रमाणीकरण हुने बताए । ‘प्रमाणीकरण गर्न उद्योगी, बिक्रेतासँग सहमति भइसकेको छ । कुच्चिएको सिलिन्डर हटाउने, दैनिक अनुगमन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रमाणीकरण भएपछि अनुगमन हुन्छ । प्रमाणीकरणमा नआउनेले बिक्री गर्न पाउदैन ।’
प्रमाणीकरणको क्रममा बिक्रेताले स्थानीय निकायको स्वीकृति लिनुपर्छ । कम्पनीको आधिकारीक डिलर पनि हुनुपर्छ । ग्यास पसलबाट मात्रै ग्यास बेच्ने (बढीमा २ कम्पनीको ग्यास) पाउँछन् । त्यसमा फायरफाइटिङ, ग्यास जोख्ने तराजु, मूल्यसूचीलगायत सबै उल्लेख हुनुपर्छ । अहिले अवस्थित कारोबार भएकाले प्रमाणीकरण भए बिक्रेताको सख्या ३० प्रतिशतले घट्ने निगमले जनाएको छ ।