काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् ।
सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा अवसरमा मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि संयुक्त अधिराज्य प्रमुख विकास साझेदारको रूपमा रहेको र संयुक्त अधिराज्यले नेपालमा मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायता लगायतका क्षेत्रमा गरेको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको बताए ।
भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गइरहेको सन्दर्भमा सोको दीगो र भरपर्दो रूपमा संक्रमणकालीन व्यवस्थापन गर्नु आवश्यक रहेको बताए । नेपाली उद्योग व्यवसायको विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न र नेपालको निर्यात व्यापारमा पर्न सक्ने असर न्यूनीकरण गर्दै प्राप्त अवसरको सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि नेपाल सरकारको प्राथमिकताका क्षेत्रको रूपमा रहेको बताए ।
छलफलको क्रममा मन्त्री भण्डारीले जडिबुटी, पश्मिना, चिया, तयारी पोशाक, गलैंचा लगायतका नेपालको प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको निर्यातमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।
सो अवसरमा राजदूत फेनले मन्त्री भण्डारीलाई पुनः नियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा २ देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरे । उनले संयुक्त अधिराज्यको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
उनले नेपालसँग थप साझेदारीका कार्यक्रममा जोड दिँदै २ मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
भेटघाटको अवसरमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी र जीवलाल भुसाल लगायत अन्य अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारी एवं संयुक्त अधिराज्यको नेपालस्थित राजदूतावासका प्रतिनिधिको समेत उपस्थिति थियो ।