काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा आएका बदलाव र चुनौतीबारे युवाहरूबीच पर्याप्त छलफल हुन नसकेको बताएका छन् ।
नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित विस्तारित भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसको परिणामस्वरूप सामाजिक सञ्जालमा दूषित विचार आउने गरेको बताए ।
शुक्रबार नेपाल बंगलादेश बन्छ भन्नेहरूलाई बंगलादेश जुन बाटोमा गइरहेको छ, त्यो सही बाटो हो वा होइन भन्ने कुरा सोच्न पोखरेलले आग्रह गरे । ‘सूचना र प्रविधिका माध्यमबाट जुन प्रकारका विचार सम्प्रेषण भएका छन्, त्यसले समाजलाई सही बाटोमा अगाडि बढाउँदैन,’ उनले भने ।
सूचना र प्रविधिलाई सही ढंगले प्रयोग गर्दा आममानिसमा सकारात्मक प्रभाव पार्न सकिने उनले बताए । यसको सही प्रयोग नहुँदा नकारात्मक विचार समाजमा प्रवाह हुँदै जाने पोखरेलको धारणा छ ।
यतिबेला मुलुकलाई कुन दिशामा लैजाने भन्ने गम्भीर बहस चलिरहेको पोखरेलले बताए । राजनीतिक परिवर्तनको लागि संघर्ष गरेर आएका पुराना राजनीतिक दलको समय सकियो भन्ने खालको भाष्य अहिले निर्माण गर्न खोजिएको उनले बताए । इतिहास नबोकेका दलले देशको विकास र समृद्धिका लागि काम गर्न नसक्ने विश्व इतिहासले प्रमाणित गरेको उनले बताए ।
नयाँ भनिएका पार्टीहरूले देशमा अस्थिरता मात्र मच्चाउने उनले बताए । यसले देशले सही गति नलिने उनले प्रष्ट पारे । अस्थिरताको बीचमा देश विकासले गति लिन नसक्ने पोखरेलले बताए ।
‘नेपालको सबैभन्दा ठूलो दुर्भाग्य, राज्यलाई राज्यका रूपमा बुझ्ने अवस्था छैन,’ उनले भने ।
राज्य बलियो नहुँदासम्म राज्यमाथि नै आक्रमणका घटना हुने उनले बताए । ‘हाम्रो राज्यमाथि विश्वास र भरोसा नभएको समयमा हामी छौं, किनकि राज्य कमजोर छ,’ उनले भने ।
दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुँदा मात्र देश समृद्धिको बाटोमा अघि बढ्ने उनले बताए । यी ३ वटा कुरालाई जोड्न नसक्दा नेपालले विकासको गति नलिएको उनको धारणा छ ।
अहिले एमाले अध्यक्ष केपी ओलीमाथि विभिन्न खालका आरोप लगाइएका बताउँदै उनले जसले एमालेको नेतृत्वमाथि आरोप लगाएका छन्, उनीहरू ती घटनामा संलग्न भएका बताए । एमालेका नेताहरूलाई आरोप लगाउनेहरू आफैं ती घटनामा डामिँदै आएको पोखरेलका भनाइ छ ।
उनले अहिले एमाले पार्टीभित्र पनि राजनीतिक अवसरवाद र सांगठनिक अराजकता बढेको बताउँदै त्यसलाई समाप्त पार्नुपर्ने बताए । सांगठनिक र वैचारिक काम नहुँदा अवसरवादको विकास हुने उनको धारणा छ ।
समाजलाई बदल्न बलियो संगठन चाहिने र त्यसको लागि विधि, पद्धति र अनुशासन आवश्यक पर्ने पोखरेलले बताए । समाजवाद निर्माणको काम संगठित शक्तिले मात्र गर्न सक्ने उनले प्रष्ट पारे । ‘क्षमता नभएका मानिसहरूले समाजवाद निर्माण गर्न सक्दैनन्, योग्यता नभएका मानिसहरूले समाजवाद निर्माणमा काम गर्न सक्दैनन्,’ पोखरेलले भने ।
परम्परागत उत्पादन पद्धतिमा जोडिन नचाहने र नयाँ उत्पादन पद्धति स्थापित गर्न नसकिएको कारण युवाहरू विदेशिने गरेको पोखरेलले बताए । आजको युवा पुस्तामा व्यवसाय गर्न नचाहने र जागिर नै खोज्ने प्रवृत्ति बढेकाले पनि विदेशिन गरेका उनको भनाइ छ । अहिलेको पढाइ जोखिम मोल्ने साहस बढाउने खालको नभएको कारण पनि यो समस्या आएको पोखरेलले बताए ।