यस वर्षको जनैपूर्णमा पर्व आउनै लागेको छ । नेपाली पत्रो अनुसार यही भदौ ३ गते जनैपूर्णिमा परेको छ । यसोत यस दिन राष्ट्रिय सूचना दिवस र विश्व फोटोग्राफी दिवस पनि परेको छ । यो आलेखमा जनैपूर्णिमा र क्वाँटीका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।
क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । ‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ ।
यस दिन हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । यस दिन बाधिँएको डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि मेला लाग्ने गर्दछ ।
विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदीबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी (डोरो) बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाइहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।
यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । जस्तो तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा । झ्ट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । तर खाना पनि संकृति हो, संस्कार हो । अझ खान्की हाम्रो पुरातन संस्कार हो । परम्परा मर्न नदिएर धान्नका लागि भनेपनि विधि पु¥याउनु हाम्रो दायीत्व हो । हाम्रा पुर्खाले यस्ता संस्कार त्ससै बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व छन् ।
जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, मस्याङ, टाटे सिमी, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।
परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा नौ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ । अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।
किन खाने क्वाँटी ?
हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।
तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । जनै पूर्णिमा नै किन त ? हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ । खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।
के छन् अरु फाइदा ?
पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ । यसले तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ । मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ । क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ । क्वाँटीले कब्जियतको समस्या हटाउँछ । मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।
कति खाने ?
क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्ने पोषविद् एवम् चिकित्सकहरुको भनाई छ ।