बर्दिया । शनिबार रातीदेखि परेको मुसलधारे वर्षाले ठाकुरद्वारा नगरपालिका र बढैयाताल गाउँपालिकामा ३९ घर डुबानमा परेका छन् । वर्षाले ठाकुरबाबा नगरपालिका–२ बढी नै प्रभावित देखिएको छ ।
ओराही लगायत खहरे खोला र झरनाबाट आएको बाढीले ठाकुरबाबा नगरको रानीपुरमा २३ घर र आम्बासामा ६ घर डुबानमा परेका छन् । एउटा रुख ढलेर शिवपुरमा तीन घरमा क्षति पुगे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रानीपुरमा प्रहरीलगायत स्थानीयको सहयोगमा डुबान भएका घर– परिवारका सदस्यलाई उद्धार गरी नजिकको कबर्डहलमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २९ घरका ९८ जनाको उद्धार गरिएको बताइन् । ‘उनीहरू अहिले कबर्डहलमा अस्थायी रूपमा बसेका छन्,’ उनले भनिन्, ‘मौसममा सुधार हुनासाथ पीडित परिवार घर फर्किनेछन् ।’ दिउँसो जलस्तर घटे पनि घर–आँगन हिलाम्ये भएकाले बस्ने ठाउँ नभएकाले सुरक्षित स्थल कबर्डहलमा शरण लिन आएको धनसरा सुनारले दुःखेसो पोखिन् । ‘घरभित्रको खाद्यान्न बाढीले भिजाएको छ,’ उनले भनिन्, ‘लत्ताकपडा र बिस्तारा सबै बगाएकाले घर फर्किने अवस्था छैन ।’
कबर्डहलमा आश्रय लिएका पीडित परिवारलाई ठाकुरबाबा नगरपालिकाले बिहान ड्राइफुड वितरण गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बिहान ड्राइफुड वितरण गरे पनि बेलुकीबाट खानाको व्यवस्था गरिने बताए । जलस्तर घट्दै गए पनि मौसममा सुधार नभएकाले सबैलाई सचेत गराएको उनले बताए ।
मुसलधारे वर्षाले पूर्व–पश्चिम राजमार्गको ठाकुरबाबा नपा–२ आइतबार बिहान जलमग्न भएको थियो । राजमार्ग जलमग्न भएका कारण केहीबेर यातायात सेवा पनि प्रभावित भएको थियो । यसै गरी बढैयाताल गाउँपालिका–१ मदनचोक नजिक ८ घर डुबानमा परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले डुबान भएका घर–परिवारलाई सुरक्षित स्थलमा सारेको बताएको छ ।
यसैबीच बबई नदीमा जलस्तर बढ्दै गएको छ । दाङ लगायत पहाडी क्षेत्रमा वर्षा भइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ ।